अनुदानको मकैको बीउमा ठगीः छानविन हुने, दोषी प्रमाणित भए कारवाही

कृषि मुख्य समाचार

उर्लाबारी, ८ माघ, उर्लाबारीका कृषकले अनुदान वापतको ३ सय २० रुपैँया मूल्य बराबरको मकैको बिउ लिन १ सय रुपैँया वडा कार्यालयलाई बुझाउनु परेको प्रकरणमा नगरपालिकाले छानबिन गर्ने भएको छ । उर्लाबारी नगरपालिकाले वडा नं. ८ र ९ नं. वडाको लागि चालु आर्थिक वर्षमा प्रत्येक वडामा ३ लाख आर्थिक विकास कार्यक्रम शीर्षकमा रकम विनियोजन भएको थियो । वडा कार्यालयले विनियोजन रकमसँगै ती वडाका २ हजार ५ सय ९० जना कृषकसँग उल्टै एक सय रुपैँया लिएर ३ सय २० रुपैँया मूल्य बराबरको अनुदानको एक केजी मकैको बिउ बिक्री गरेको थियो ।

यस विषयमा ८ नंं. वडा अध्यक्ष कुलबहादुर कार्की र ९ नं. वडाका अध्यक्ष बमबहादुर लिम्बूले नगरपालिकाले विनियोजन गरेको ६ लाखले बिउ अपुग हुने भएपछि २०७५ मंसिरमा वडा स्तरिय बैठकले प्रति कृषक एक सय रुपैँया उठाउने निर्णय गरेको बताएका छन् ।

अध्यक्षद्वयले नगरपालिकाका कृषि प्राविधिक लाक्पा भोटियाको समन्वयमा दुई वडाका लागि २ हजार ३ सय ४० केजी मकैको बिउ खरिद गरी कृषकलाई वितरण गरेको बताएका छन् । स्थानीय कृषक राम सिवाले अनुदानमा आएको एक केजी मकैको बिउ खरिद गर्नु बिडम्बना भएको बताएका छन् ।

उता नगरपालिकाका मेयर खड्ग फागोले भने नगरपालिकाले कृषकलाई अनुदान वापतमा निःशुल्क रुपमा मकैको बीउ वितरण गर्नुपर्नेमा उल्टै कृषकसँग रकम असुल गर्नु नियम विपरित भएको बताएका छन् । उनले एक केजी बीउ कृषकलाई वितरण गर्न वडामा रकम अभाव भएको भए नगरपालिकासँग समन्वय गर्नु पर्ने बताए ।

सोही प्रसंगमा मेयर फागोले वडाबासीबाट आएको जनगुनासोको विषयमा आवश्यक छानविन गर्ने र दोषी प्रमाणित भए कारवाही गरिने बताएका छन् ।