रवी र निकिताले गरे कोर्ट म्यारिज, विहे आउँदो वैशाखमा

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, ७ माघ, सीधा कुरा जनतासँग नामक कार्यक्रमबाट हिट बनेका र पछिल्लो समय विभिन्न पारिवारिक विषयमा आलोचित बन्दै आएका पत्रकार रवी लामिछानेले अर्को विवाह गरेको घोषणा गरेका छन् । आज एक फेसबुक स्टाटस लेख्दै आफूले निकिता पौडेलसँग कोर्ट म्यारिज गरेको खुलाएका हुन् । निकिता चलचित्र विकास बोर्डकी अध्यक्ष हुन् ।

रवीको केही दिन अघि मात्रै डिभोर्स भएको थियो भने निकिता पनि डिभोर्सी हुन् । एक–अर्काको परिवारसँग अनुमती लिएरै आफूहरुले कोर्ट म्यारिज गरेको उनले बताएका छन् । उनीहरुले आजै काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ता गरेका हुन् ।

डिभोर्स भएको केही दिनमै बिहे गर्नुको कारण खुलाउँदै रवीले भनेका छन्, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो ।’ डिभोर्स लगत्तै रवीमाथि उनकी पूर्वपत्नी इशा श्रेष्ठले विभिन्न आक्षेपहरु लगाएकी थिइन् ।

पढ्नुहोस् उनको स्टाटस जस्ताको तस्तै:

व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद । परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।