आइपिएम प्रविधि विस्तारमा कमल गाउँपालिकाको जोड

कृषि मुख्य समाचार

केशवराज भण्डारी, झापा, ४ माघ, कृषि विकाससँगसँगै भित्रिएको रसायनिक विषादीले मुलुक आक्रान्त हुने अवस्थामा झापाको कमल गाउँपालिकाले भने रसायनिक विषादी न्युनिकरणमा जोड दिएको छ ।

नेपालमा विगत ६ वर्ष यता हरेक वर्षको पुष महिनाको तेश्रो हप्तादेखि माघ महिनाको पहिलो हप्तासम्म विभिन्न कृषि गतिविधि सञ्चालन गरेर मनाउदै आइएको विषादी मुक्त सप्ताह झापाको कमल गाउँपालिकाले र्यालीको आयोजना गरी केर्खा बजार परिक्रमाका साथै विभिन्न कार्यक्रम गरी मनाएको छ ।

गाउँपालिकाका आर्थिक समितिका संयोजक नरप्रसाद दंगालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी प्रमुख अथिति रहेका थिए । कमल गाउँपालिका कृषि विकास साखा प्रमुख प्रेम पोख्रेलले स्वागत गरेको कार्यक्रममा विशेष अथितिको रुपमा कृषि ज्ञान केन्द्र झापाका प्राविधिक सहायक खिरबहादुर श्रेष्ठ रहेका थिए भने कार्यक्रम आइपिएम अभियान्ता तथा सहजकर्ता टंक कट्टेलले सञ्चालन गरेका थिए । नव जागृती आइपिएम कृषक समूहले कृषि सचेतना गीतसहित स्वागत गरेको कार्यक्रम करिव ३ सय कृषकबीच सम्पन्न भएको थियो ।

कारितास नेपाल, आइपिएम कृषि सहकारी तोपगाछी, र गाउँपालिका स्तरिय अगुवा कृषक समुहले सहयोग गरेको कार्यक्रम कमल गाउँपालिका कृषि शाखाले आयोजना गरेको थियो । कार्यक्रममा आइपिएम कृषि सहकारी संस्थाले उत्पादन गरेको प्रांगारिक मल साथै जैविक विषादि बनाउन प्रयोग हुने ड्रम साथै उन्नत तरकारी तथा काँक्राको बिउ विजन कृषक तथा कृषक समूहलाई वितरण गरिएको थियो ।

कमल गाउँपालिकाबाट विषादी मुक्त सप्ताह साथै अन्य कृषि गतिविधि सञ्चालनका लागि रु १ लाख १० हजार, कारितास नेपालबाट ५ हजार रकम र आइपिएम कृषि सहकारीको ४० हजार बराबरको ढुवानीसहितको मल कृषकलाई वितरण गरी कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका उपप्रमुख वेनुप्रसाद सिवाकोटीले गाउँपालिकालाई नै विषादी मुक्त बनाउने अभियानमा गाउँपालिका केन्द्रित भएको बताए । सोहि अवसरमा बोल्दै उपाध्यक्ष सिवाकोटीले भने ”गत वर्षबाट नै गाउँपालिकाले विषादी न्युनिकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको साथै यस आर्थिक वर्षमा पनि रु १० लाख भन्दा बढि रकम जैविक मल निर्माणमा छुट्याएका छौँ ।”

Loading...