बीएण्डसी हस्पिटलका सञ्चालक प्रसाईले दिए पत्रकारलाई धम्की

मुख्य समाचार स्वास्थ्य

केशवराज भण्डारी, झापा, ३ माघ, झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले इलामका पत्रकारहरुलाई फोन गरेर धम्की दिएका छन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका सदस्य तथा कान्तिपुर दैनिकका इलाम संवाददाता विप्लव भट्टराई सहित इलामका अन्य पत्रकारहरुलाई फोन गरेर धम्की दिएका हुन् ।

चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर १६औँ पटकको सत्याग्रहका क्रममा इलाममा अनसनरत डा गोविन्द केसीको पक्षमा समाचार लेखेको भन्दै प्रसाईले पत्रकारलाई धम्की दिएको इलाममा कार्यरत पत्रकारहरुको भनाई रहेको छ ।

बीएण्डसीले विजय थापा नामका ब्यक्तिलाई विभिन्न माग राख्दै अनशन बस्न लगाए पनि इलामका पत्रकारले डा केसीले उठाएका जनपक्षीय सरोकारका विषयलाई महत्व दिएका छन् । आफूले अनशन बसाएको ब्यक्तिका बारेमा समाचार नलेखेको भन्दै प्रसाईले धीम्क दिएको इलाममा कार्यरत पत्रकारको भनाई रहेको छ ।

नेपाल पत्रकार महासंघ इलाम शाखाले एक विज्ञप्ति जारी गरी समाचारमा चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै समाचारको विषयमा पत्रकारहरुलाई अपशब्दसमेत प्रयोग गरी गाली, गलौज, धम्की दिने ब्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने माग राखेको छ । शाखा अध्यक्ष कोकिला ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई स्वतन्त्र रुपले समाचार संप्रेषणको वातावरण बनाउन पनि आग्रह गरिएको छ ।

Loading...