त्रिवि व्यवस्थापन संकाय पहिलो सेमेस्टरको परीक्षामा ८२ प्रतिशत उत्तीर्ण

मुख्य समाचार शिक्षा

कीर्तिपुर, २९ पुस, त्रिवि व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तहमा यस वर्षको प्रथम सेमेस्टरको हालै प्रकाशित नतिजामा औषतमा बयासी प्रतिशतभन्दा माथि विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् ।

व्यवस्थापन संकाय डीनको कार्यालयका अनुसार देशभर पहिलोपटक सुरु गरिएको सेमेस्टर प्रणालीको पठनपाठन अन्तरगत पहिलो सेमेस्टरको नतिजामा उपत्यकाबाहिरका क्याम्पस÷कलेजहरुबाट ८७.८९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

यसैगरी उपत्यकाभित्रका क्याम्पस÷कलेजहरुबाट ९१.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । यहि वर्षदेखि उपत्यकाबाहिरका क्याम्पसहरुमा समेत सेमेस्टर प्रणाली अनिवार्य गरिएको हो । यसअघि गतवर्षसम्म त्रिवि कीर्तिपुरस्थित विभाग र उपत्यकाभित्रका क्याम्पसहरुमा मात्र सेमेस्टर प्रणालीमा पठनपाठन भइरहेको थियो ।

यो सन् २०१९ को लागि भर्ना भएका विद्यार्थीहरुको पहिलो सेमेस्टरको नतिजा हो । यो नतिजा देशभरको औषतमा ८२.२१ प्रतिशत उत्तीर्ण हो । यस नतिजाले विगत वर्षहरुको वार्षिक प्रणालीमा भएका कमी कमजोरीहरु सुधार गरी सेमेस्टर प्रणालीमा गएपछि व्यवस्थापन संकायमा गुणस्तरीय पठनपाठन भइरहेको र नतिजा राम्रो आएको देखाएको छ ।

पहिलो समेस्टरको परीक्षा भाद्र/आश्विन महिनामा लिइएको थियो भने तीन महिनाभित्र नतिजा प्रकाशन गरिएको डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिए । उनले विगत वर्षहरुमा वार्षिक प्रणालीको नतिजा हेर्दा सातदेखि सत्र प्रतिशतसम्म मात्र विद्यार्थीहरु परीक्षामा उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणालीले नतिजामा उल्लेख्य सुधार ल्याएको बताए । वार्षिक प्रणालीमा बीस प्रतिशतमाथि नतिजा नआएको बताउँदै डीन शर्माले प्रथम सेमेस्टरको नतिजाले संकायलाई उत्साहित गरेको बताए ।

यस वर्ष उपत्यकाभित्र र उपत्यका बाहिरका क्याम्पसहरुमा व्यवस्थापन संकायको स्नातकोत्तर तह पहिलो सेमेस्टरमा ६ हजार तीन सय साठीभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले व्यवस्थापन संकायको प्रथम सेमेस्टरको परीक्षा तोकिएको समयमा सम्पन्न भई निर्धारित समयमा नतिजा प्रकाशन हुनु र ८० प्रतिशतभन्दा बढी उत्तीर्ण भएको नतिजा आउनुले सबैमा सकारात्मक सन्देश दिएको बताए ।