‘प्रधानमन्त्रीज्यू समयमै दिमाग र आँखा खोल्नुहोस्’

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौं, २९ पुस, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् । उनले भने, ‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस भनेर म यही मञ्चबाट आग्रह गर्दछु ।’

आइतबार एक साक्षात्कारमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीले डाक्टर केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए । सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको सुझाव छ । उनले सरकारले कु–सोच राख्न नहुने धारणा राखे । उनले भने,’आवश्यक पर्यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं ।’ सरकारले अहिले दम्भ र उत्तेजना देखाउन बेला नभएको पनि उनले तर्क गरे ।

गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरुको अभियन्ता पनि भएको श्रेष्ठले बताए । उनले भने,’जनताले संघर्ष गर्दा मुलुकमा भएका शक्तिशाली संस्थाहरुपनि धराशयी भएका ईतिहाँस छ ।’

उनले आफूहरु डाक्टर केसीको पृष्ठपोषक नभएको पनि जिकिर गरे । श्रेष्ठले भने,’डाक्टर केसीले उठाएका मागहरु त कम्युनिष्ट सरकारले उठाउनुपर्दथ्यो । कम्युनिष्ट सरकारले उठाउनुपर्ने कुरा उठाईदिनुभएको छ ।’ उनले डाक्टर केसी संघको आजिवन सदस्य भएकोले उनको जीवन रक्षाको लागि सरकार गम्भिर बन्नुपर्नेपनि बताए ।

वर्तमान सरकारले डाक्टर केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने,’सरकारले कि नसक्ने भए हामी सक्दैनौं भनेर पहिल्यै भन्नुपर्दथ्यो । तर, सम्झौता गरेपछि लागु गर्नुपर्छ ।’