झापामा मौरीचरन कै समस्या !

कृषि मुख्य समाचार

केशवराज भण्डारी, झापा, २७ पुस, पछिल्लो समय झापा जिल्ला मौरीपालनमा निक्कै अगाडि बढिसकेको छ । विशेष गरेर झापा जिल्लाको दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिकामा ब्यवसायिक मौरीपालन गरिदै आएको छ ।

विगतका वर्षहरुमा उत्पादन भएको मह क्रमशः वृद्धि उन्मुख रहेको झापा जिल्लामा ३ सय १० जना कृषक मौरीपालनमा सहभागि छन् । २ हजार ५ सय गोला उत्पादनमुलक मौरी घारबाट ३० हजार किलो मह वार्षिक रुपमा उत्पादन हुन थालेको छ । जसबाट वार्षिक १ करोड ५ लाख आम्दानी कृषकले लिन थालेका छन् । यस वर्षबाट झापाको दमक नगरपालिका भित्र २५ जना कृषकले सामुहिक रुपमा ब्यवसायिक मौरीपालनको सुरुवात गरेका छन् । त्यसैगरी कनकाइ नगरपालिकाको सुरुङ्गामा १५ जना एकल महिलाले ३० गोलाबाट ब्यवसायिक मौरीपालनको सुरुवाती चरणमा छन् ।

विशेष गरेर झापा जिल्लाको शिवसताक्षी नगरपालिका जिल्लाकै ठुलो मौरीपालन गरिएको क्षेत्र हो । यस नगरपालिकामा रहेको श्री सतासी महिला मौरीपालन कृषि सहकारीमा मात्र १ सय ८४ जना महिला उद्यमीहरुको स्वामित्वमा मात्र २ हजार भन्दा बढि उत्पादनशील मौरी गोला अर्थात घार रहेका छन् । यस सहकारीले आफ्नो सेवा क्षेत्र भित्रका महिला दिदीबहिनीहरुलाई समेट्दै ब्यवसायी त बनाएको छ नै त्यसमा पनि श्रोत विकासका क्षेत्रमासमेत अग्रणी भूमिका निर्वाह गरिरहेको छ । यहाँबाट अन्तरजिल्लासम्म पनि मौरीपालनको श्रोत विस्तार हुने गरेको छ ।

यसरी कृषकको चासो र उत्साहसँगै सञ्चालनमा आएको मौरीपालन ब्यवसायका लागि भने यतिबेला चरनको ठुलो समस्या परिरहेको छ । झापा जिल्लामा हुने विभिन्न तेलहन बाली तथा फलफुल बाली त्यसैगरी फूल फुल्ने अन्नबालीहरु विशेष गरी मौरी चरनको राम्रो श्रोतको रुपमा मान्न सकिन्छ । तर झापाली कृषकहरुमा चेतनाको कमी भएका कारण मौरीचरनका लागि आफ्नो बाली क्षेत्रमा राख्न नदिएका कारण चरनको अभाव खड्कीएको छ । शिवसताक्षी नगरपालिकामा रहेको श्री सतासी महिला मौरीपालन कृषि सहकारीकी ब्यवस्थापक तथा मौरी अभियान्ता देविकुमारी ओली (दाहाल) भन्छिन्, ‘मौरी चरनबाट कृषकलाई फाइदै फाइदा छ । बालीमा राम्रोसँग पराग सेचन हुने हुँदा उत्पादन ३० देखि ७० प्रतिसतसम्म वृद्धि हुन्छ तर कृषकलाई यस कुराको जानकारी नहुँदा चरनमा समस्या देखिएको छ ।’

मौरीचरन क्षेत्रमा अनाधिकृत रुपमा विषादीको प्रयोग भइ दिँदा पनि मौरी मर्ने गरेको किसानको गुनासो छ । मौरीचरन क्षेत्रमा कृषकको बाली नास हुने भन्ने आम कृषकको बुझाई गलत भएको बताउँदै दाहाल भन्छिन्, ‘मौरीचरन क्षेत्रमा थोरै ठाउँमा मौरी नपस्ने गरी झुल टाँगौँ बाँकी ठाउँमा मौरी खुल्ला रुपमा छाडौँ, बाली पाकिसकेपछी त्यसलाई तुलना गरेर हेर्न सकिन्छ । त्यसपछि पनि कृषकलाई चित्त नबुझे हामी ढिप्पी गर्दैनौँ ।’ मौरी अभियान्ता ओलीले झापा जिल्लामा मात्र २ सय २४ जना मौरी कृषकहरुलाई ब्यवसायिक बनाइसकेकी छिन् । उनी झापाकी एक मात्र ब्यवसायिक मौरीपालनमा राम्रो दखल भएकी पहिलो महिला कृषक हुन् । उनले ताप्लेजुङ, तेह्रथुम, उदयपुर, धनकुटा, इलाम, झापा लगायतका धेरै ठाउँहरुमा ब्यवसायिक मौरीपालन तालिम प्रदान गर्ने गरेकी छिन् । उनी भन्छिन् ‘मौरीपालनमा कृषकको चासो बढे तालिम साथै घार वितरण गर्छौँ । कृषकले उत्पादन गरेको मह किनिदिने ग्यारेन्टी साहारा सतासी महिला मौरी मह उद्योगले गर्नेछ । पहिलो चरणमा हामी प्रदेश नं. १ लाई प्राथमिकता दिन्छौँ, तर चरन क्षेत्रमा अर्गानिक अर्थात विषादी प्रयोग नगरी कृषि उपज उत्पादन गर्न जरुरी छ ।’ नेपाल सरकारले जमिन बाँझो राखेमा जरिवानासहितको कर लिने ब्यवस्था गर्न सके राज्यले चाहेको सोचेको स्वरोजगारमूखी अभियान सफल हुने तर्क राख्दै उनी थप्छिन्, ‘राज्यलाई महमा आत्मनिर्भर बनाउन हामी पहल गर्छौँ, आत्मनिर्भर मात्र होइन विदेशसम्म निर्यात गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय मह उत्पादन गरेर देखाउछौँ, जसले युवाहरुलाई स्वरोजगारसँगै जिम्मेवार बनाउने छ ।’

हाल झापामा चरन क्षेत्र हुँदा हुँदै पनि झापाली मौरी तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, चितवन, दाङसम्म पुर्याउनु पर्ने वाध्यता कृषकको छ । झापा बाहेकका अन्य जिल्लामा किसानले लगाएको बाली फूल खेल्न नपाउँदै बालीमा पराग सेचनका लागि मौरी लिएर आउन फोन आउने गरेको बताउँदै ओली भन्छिन्, ‘झापामा मात्र हामीलाई समस्या भएको छ अन्य जिल्लाहरुमा कृषक आफैँले फोन गर्नुहुन्छ । झापामा पनि फोन गरेर बोलाउनु हुने केही कृषकहरु हुनुहुन्छ । तर त्यतिले मात्र चरन प्रयाप्त हुदैन ।’ झापाका केही मौरीचरन क्षेत्रमा समस्या भएपछि हाल सुपारी जोन झापाका प्रमुख तथा बाली संरक्षण अधिकृत राजेन्द्र प्रसाद खरेल र विर्तामोड नगरपालिका कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरियाले समस्या देखिएका क्षेत्रका कृषकहरुलाई बालीमा परागसेचनको महत्वका बारेमा बुझाउन सहयोग गरिरहेका छन् ।

झापामा रहेको एक मात्र मह उद्योग साहारा सतासी महिला मौरी मह उद्योगले उत्पादिन सतासी हनी बजारमा आउनु भन्दा अघि खाद्य गुणस्तर मापनका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगर, मौरी विकास शाखा गोदावरी र नाष्टमा ल्याव टेष्ट गराउने गरेको छ । तर नेपालमा गुणस्तर मापन नगरिएको भारतीय महका कारण आफ्नै स्वदेशमा उत्पादित नेपाली गुणस्तरीय महलाई समस्या हुने गरेको कृषकको गुनासो छ ।

Loading...