आजको दिनलाई सफल बनाउने केही सुत्र ! –प्रा. स्व. जयराज पन्त

मुख्य समाचार विचार

व्यवस्थित दिनचर्यामा आबद्ध हुने व्यक्तिले प्रत्येक दिन गरिने काम र सम्पर्कको समयसारिणी बनाएका हुन्छन् । त्यस्तो समयसारिणी व्यक्तिगत, कार्यालयीय, सामूहिक जस्तो पनि हुन सक्दछ ।

समयलाई आफ्नो अनुकूल, उपयोगी बनाउन र अत्यधिक मात्रामा उचित तवरले व्यवस्थित गरी उपलब्धिपूर्ण तुल्याउन ज्ञानीहरू सदा सक्रिय रहन्छन् । कर्मठ भनिने व्यक्ति पनि तिनै हुन् । बिहान उठेदेखि बेलुकी सुत्दासम्मको समयका प्रत्येक मिनेटमा गरिने काम त्यस्ता व्यक्तिले पहिले नै निर्धारण गरेका हुन्छन् । कतिपयले त दिनभरि गरिने काममा पूर्ण रूपमा समर्पित भएर लाग्ने प्रतिज्ञा हरेक दिन बिहानै गर्दछन् ।

ईश्वर, आत्मा, सृष्टि, अदृश्य शक्ति, पितृ गण, शासनाधिकारी, कर्मरूपी विशिष्ट आस्थाका केन्द्र, धर्म, मानवताजस्ता कुनै पनि श्रद्धेय तत्त्वप्रति नमन गर्दै प्रतिज्ञा गर्ने काम तिनीहरूबाट हुन्छ । केही कार्यालयमा प्रमुख व्यक्तिले सम्बद्ध दिनमा गरिने कामको विवरण समस्त कामदारलाई बिहानै भेला गराएर दिने र आफ्नो जिम्माको काममा पूर्ण रूपमा इमान्दार भएर लाग्ने प्रतिबद्धता कामदारबाट व्यक्त गराई तत्तत् काममा खटाउने चलन रहेको हुन्छ । निष्ठा, आकर्षण, समर्पण र अपनत्व भयो भने गुण र परिमाण दुवै दृष्टिले उन्नत स्तरको काम सम्पन्न हुन्छ ।

जानकारहरू आफूले गर्ने काममा निम्न लिखित कुरा रहनु पर्दछ भन्दछन् :
१. निर्दिष्ट कामलाई आफ्नो ठान्ने ।

२. त्यस कामले आफूलाई पेसागत हिसाबबाट प्रवीण बनाउन, आर्थिक दृष्टिले सम्पन्न तुल्याउन, कार्यालय परिवारमा चर्चित तुल्याउन, आत्मसन्तुष्टि दिलाउन, आफूले नै कायम गरेको पहिलेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गराउन, कार्यालयबाट प्राप्त हुने स्याबासीका साथै अधिकारीले दिने स्नेह तथा विविध किसिमको पुरस्कार प्राप्त गर्न सकिने अवस्था निर्माण गर्न र मन प्रफुल्ल तुल्याउन मद्दत गरोस् भन्ने अवधारणा राख्ने ।

३. मनोरञ्जनका साधन प्रयोग गरे जस्तै अनुभूतिमा निर्दिष्ट काम गर्ने ।

४. कसैको दबाब, रोजगारीमा लाग्नको बाध्यता, पारिवारिक जिम्मेवारी निर्वाह गर्नका निमित्त जसरी पनि गर्नै पर्ने भन्ने मनोभावबाट सर्वथा मुक्त बनेर स्वतन्त्रतापूर्वक आफ्नो काम गर्ने ।

५. आफूले गरेको कामले आफू, आफ्नो परिवार, नातागोता, कार्यालय, समाज, देश र विश्व लाभान्वित हुने कुरामा विश्वस्त बन्दै राष्ट्रसेवा गरेको भावना मनमा राख्ने ।

६. आफ्नो कामले कार्यालयको लाभ र विकास हुनका साथै आफ्नो पनि कल्याण हुने धारणा मनमा राखेर प्रसन्न बन्ने ।

७. आफ्नो व्यवसायप्रति सन्तुष्टि, आस्था, समर्पण र प्रेम हुनु पर्ने ।

कुनै पनि कार्यालयको समुन्नतिमा उपर्युक्त विचारले आतप्रोत कामदार हुनु आवश्यक हुन्छ । नेपालमा विद्यालयहरूको स्थापना एवं परिचालन जनस्तरबाट हुँदाको अवस्था र तिनलाई सरकारी व्यवस्थापनमा लगेको अवस्थाको तुलनात्मक अध्ययन गर्दा पनि यो कुरा स्पष्ट हुन्छ । यो काम मेरो हो, मैले नै पर्याप्त मात्रामा खटेर यस कार्यालयको काम गर्नु पर्दछ, यस कामले मेरो उचाइ बढाउँछ, यो काम मेरा निम्ति सर्वस्व हो भन्ने भावना भयो भने सम्बद्ध कामदार तथा कार्यालयको उन्नति निश्चित रूपमा हुन्छ । त्यसैले प्रत्येक कार्यालयमा प्रतिदिन कामदारलाई प्रतिबद्ध मात्र होइन प्रतिज्ञाबद्ध तुल्याउनु उचित हुन्छ । साथै दिइएको कामको जिम्मेवारी, लाभ, जस, प्रतिफलको भागिदार र प्रभुत्व पनि सम्बद्ध कामदारमा सुम्पनु उपयुक्त हुन्छ । त्यसो भएमा औपचारिक रूपमा प्रतिज्ञा गराइरहनु पर्दैन । कामदार मनैदेखिको उत्साह बोकेर स्वयं आफ्नो कर्तव्य पालनमा मनमनै प्रतिज्ञा गर्न थाल्दछ ।

स्रोत: प्रा. जयराज पन्तका वैचारिक विरासत, पेज नम्बर २७९-२८१, प्रकाशक: लोकवार्ता परिषद नेपाल, २०७४

Loading...