‘पति–पत्नीबीचको मानसिक द्वन्द्व’ को कथा अनागतमा

मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २५ पुस, करिब दुई वर्ष अघि नै निर्माण भएको चलचित्र अनागत अब भने रिलिज हुने भएको छ । आगामी माघ ११ गते अर्थात् जनवरी २५ तारिखबाट फिल्म रिलिज हुने चलचित्र निर्माण युनिटले जानकारी दिएको छ । बुधबार एक पत्रकार भेटघाटको आयोजना गर्दै निर्माण युनिटले सो जानकारी दिएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा कलाकारहरुको परिचय पनि गराइएको थियो । निर्माता चन्द्र के. झा, कार्यकारी निर्माता केपी उपाध्याय, निर्देशक साम्तेन भुटिया, कलाकारहरु अर्पण थापा, प्रियङ्का कार्की, प्रवीण खतिवडा, बालकलाकार रोसिन सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्रको टिजर र एउटा गीत पनि देखाइएको थियो जुन यसअघि नै युट्युवमार्फत सार्वजनिक भइसकेका छन् ।

पत्रकारहरुलाई जानकारी दिँदै निर्माता तथा लेखक झाले चलचित्र ढिलै भए पनि दुरुस्त रुपमा सार्वजनिक हुने जानकारी दिए । श्रीमानलाई श्रीमतीले हत्या गर्न सक्ने भन्ने आशंकामा यो चलचित्र निर्माण भएको उनले जानकारी दिए ।

निर्देशक भुटियाले चलचित्रमा थाङ्का र एब्ट्याक्ट पेन्टिङमा केही काम गर्न खाजेको बताए । प्रियङ्का र अर्पणको कामबाट आफू खुसी भएको बताउँदै भुटियाले पेन्टरको रियल क्यारेक्टर तयार गर्न अर्पणलाई सुत्दा र हिड्दा पनि १० किलोको ढुङ्गा बोकाएको स्मरण गरे । अन्य चलचित्र भन्दा फरक शैली, कथावस्तु र प्रस्तुती भएकोले यो चलचित्र हेर्न जाँदा कुनै अपेक्षा बिना जान पनि उनले दर्शकलाई आग्रह गरेका छन् । निर्देशक भुटियाले आफूले फरक फरक किसिमका चलचित्र निर्माण गर्ने लक्ष्य रहेको पनि सुनाए ।

नायिका प्रियङ्का कार्कीले चलचित्र डार्क, कम्प्लिकेटेड र डिफरेन्ट भएको बताइन् । चलचित्रका प्राय: सिनहरु एकै घरभित्र खिचिएको भए पनि आफूलाई त्यसको अभिनय फरक लागेको बताइन् । साम्तेनको निर्देशनमा काम गर्दा आफूलाई फरक पाउने पनि उनले बताइन् ।

चलचित्रका मुख्य नायक अर्पण थापाले चलचित्रको क्यारेक्टर सुटिङपछि पनि धेरै समय हट्न नसकेको बताए । सुटिङ सकिएपछि पनि क्यारेक्टर आफूबाट नउत्रिएको अनुभव उनले सुनाए । चलचित्रको अभिनय गर्दा आफूलाई निक्कै रमाइलो लागेको पनि बताए ।

अर्का कलाकार प्रवीण खतिवडाले यो चलचित्रमा आफूलाई अभिनय गर्न निक्कै सहज भएको सुनाए । थिएटर आर्टिस्टकै रोल भएकाले आफूले सहज गरी काम गरेको बताए । चलचित्रको अनागत क्यारेक्टर आफू भएको पनि उनले खुलासा गरे ।

चलचित्रका बालकलाकार रोसिन सुवेदीले चलचित्रमा दुई वर्ष अघि नै अभिनय गरिएकोले संवादहरु बिर्सिएको बताए । सुटिङ भएको लामो समयपछि आएकोले पनि कलाकारले संवाद वा दृश्य बिर्सिने अवस्था आएको हो ।

Loading...