मौरी चरन क्षेत्रमा विषादी प्रयोग गर्नेलाई जेल सजाय

कृषि मुख्य समाचार विषेश समाचार

झापा, २५ पुस, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले मौरी चरन क्षेत्रमा विषादी प्रयोग गर्नेलाई जरिवानासहित जेल सजाय हुने बताएका छन् । बुधबार झापामा भएको नेपाल मौरीपालक महासंघको २० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले भने, ”मौरी चरनको क्षेत्रमा विषादी प्रयोग गर्ने जो कोहिलाई जरिवानासहित जेल सजायको ब्यवस्था गर्ने गरी कानुन निर्माण गर्छौ ।”

मन्त्री खनालले मौरी पालनका लागि नीति निर्माण गर्ने पनि बताए । उनले मह प्रशोधनका लागि छुट्टै ल्यावको स्थापना गर्न सरकारी तबरबाट पहल गरिने बताए । सोहि अवसरमा मन्त्री खनालले महको आयात न्युनिकरण गर्दै स्वदेशी महलाई बजारीकरणमा सहयोग गर्नसमेत सम्बन्धित निकायलाई आग्रह गरे ।

किसानलाई चरनको समस्या रहेको बताउदै नेपाल मौरीपालक महासंघ केन्द्रीय उपाध्यक्ष देवी दाहाल भन्छिन्, ”मौरी चरनमा लगेको बेला स्थानीयहरुबाट असहयोग र विषादीको उच्चतम प्रयोगले समस्या हुने गरेको छ ।” मौरी चरनबाट फूलमा राम्रो परागसेचन हुने हुँदा उत्पादन वृद्धिसँगै बालीमा रोग, किराको प्रकोप पनि कम हुने तथा पर्यावरणमा समेत सकारात्मक प्रभाव पर्ने तर कृषकले यस बारे नबुझेको उनले बताइन् ।

झापाको विर्तामोड स्थित अतिथि सदनमा सम्पन्न भएको महासंघको २० औँ वार्षिक साधारणसभामा महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा मन्त्री खनाल प्रमुख अतिथि तथा पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रमलाई महासंघका केन्द्रीय सचिव मोहन खनालले सञ्चालन गरेका थिए ।

Loading...