वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारवाही गर्न लेखा समितिको निर्देशन

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, २३ पुस, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा संलग्न दोषीमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले बुझाएको प्रतिवेदनलाई संशोधन गर्दै खरिद प्रक्रियामा मुख्य भूमिका निर्वाह गर्ने पदाधिकारीलाई तत्काल निलम्बन गरी कारवाहीका गर्न निर्देशन दिएको हो ।

वाइड बडी विमान खरीद प्रक्रियाबारे छानबिन गर्न गठित उपसमितिले यही पुस १८ गते आफ्नो प्रतिवेदन बुझाउँदै उक्त प्रकरणमा रु चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको ठहर गरेको थियो ।

समितिको आजको बैठकले उपसमितिले बुझाएको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । सोअनुसार बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई जहाज खरीद प्रकरण ‘बदनियत’ देखिएको छ भन्दै कारवाही माग गरिएको शब्दलाई परिमार्जन गरी नैतिक जिम्मेवारी भन्ने शब्द थपिएको छ ।

विमान खरीद सम्बन्धमा बहालवाला पर्यटनमन्त्री अधिकारी तथा पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जीतेन्द्रनारायण देवलाई नैतिक जिम्मेवारी लिन र कानूनसम्मत कारवाही गर्न समितिले सिफारिश गरेको छ । समितिले बहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन नगरी अख्तियार दुरुपयोग र भ्रष्टाचार गरेका सम्बन्धमा थप छानबिन गरी कानूनबमोजिम हदैसम्मको दण्डसजाय गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

यस्तै पूर्व पर्यटन सचिव शङ्करप्रसाद अधिकारी ‘तत्कालीन निगम सञ्चालक समितिका सदस्यलाई अख्तियारीको दुरुपयोग गरी भ्रष्टाचार गरेका’ सम्बन्धमा छानबिन गरी हदैसम्मको कारवाही गर्न पनि लेखा समितिले सरकार आयोगलाई निर्देशन दिएको छ ।

तस्विर: निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार