पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बोलाए पत्रकार सम्मेलन, राजीनामा दिने सम्भावना !

मुख्य समाचार राजनीति

काठमाडौँ, २३ पुस, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अहिले बिहान १० बजेकालागि पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सो सम्मेलनबाट मन्त्री अधिकारीले राजीनामा दिनसक्ने धेरैले विश्लेषण गरेका छन् । तर मन्त्रालय स्रोतले भने राजीनामा दिन नभई वाइडबडी खरिद प्रकरणमा आफू मुछिएको विषयमा स्पष्ट पार्न मन्त्री अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरेको बताएको छ ।

मन्त्री अधिकारीसहित बहालवाल दुई सचिवहरुलाई पनि भ्रष्टाचार गरेको आरोपमा कारबाही गर्नु पर्ने आवाज उठिरहेको छ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले उनीहरुले नेपाल वायुसेवा निगमको वाइडबडी विमान गरिदमा घोटाला गरेको, मतियार बनेको र गल्ती गरेको भन्दै कारबाहीको लागि सिफारिस गरेको थियो ।

मन्त्री अधिकारीले आफू भ्रष्टाचार काण्डमा मुछिएपछि नैतिकताको आधारमा राजीनामा दिँदै भ्रष्टाचार छानविनमा सहयोग पुर्याउनु पर्ने विश्लेषकहरुको भनाई छ । यता सरकारले भने उपसमितिको प्रतिवेदन गलत रहेको दाबी गर्दै र त्यो समितिलाई अविश्वास गर्दै अर्को छानविन समिति गठन गरिसकेको छ ।