मन्त्रीको दोहोरो सुविधा र सालासालीलाई पिए राखेकोमा प्रधानमन्त्रीलाई गुनासो छैन, समाचार लेखेकोमा भने आपत्ति !

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २३ पुस, केही दिनअघि नयाँ पत्रिका दैनिकलले श्रृङ्खलाबद्ध रुपमा संघ तथा प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको विषय प्रकाशित गरेको थियो । जसको परिणामस्वरुप केही मन्त्रीहरुले दोहोरो सुविधा लिनु गल्ती भएको स्वीकारी सकेका पनि छन् ।

यसैगरी सांसदहरुले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचार पनि प्रकाशित थियो ।

यता घर हुने सांसदहरुले पनि घरभाडा शुल्क लिइरहेको अर्को समाचार पनि पत्रपत्रिकामा प्रकाशित भएको थियो । यसमा पनि गल्ती भएको भन्दै कतिपय सांसदले सुविधा फिर्ता गरी गल्तीमा माफ मागिसकेका छन् ।

तर यति हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो विषयले छुन सकेको देखिएन । संसदमा आइतबार सम्बोधन गर्ने क्रममा बोलेका कुराले यी विषयप्रति प्रधानमन्त्रीलाई कुनै गुनासो छैन भन्ने देखिन्छ । यो सामान्य प्रकृया हो यस्तो हुन्छ र हुनु पर्छ भन्ने जसरी प्रधानमन्त्रीले धारणा राखे ।

तर यो विषय समाचार बनेकोप्रति भने प्रधानमन्त्री निक्कै आक्रोशित बने । यस्ता समाचारप्रति भने उनी निक्कै आक्रामक रुपमा प्रस्तुत भए । त्यस्ता समाचारले अतिवादलाई मलजल गरेको र प्रतिगमन निम्त्याउने उनको दाबी गरे ।

प्रधानमन्त्री ओलीले विगतमा पुरुष सांसदहरुले सुत्केरीको ओषधि खाएको समाचार आउँदा असोज १८ र माघ १९ निम्तिएको दृष्टान्त भने प्रस्तुत गर्न भ्याए । राष्ट्रपतिका लागि गाडी खरिद र कार्यालय विस्तारको विरोध गर्नु लोकतन्त्र धराशायी बनाउनु भएको दाबी गर्न भ्याए । ‘अहिले त्यो तीर संघीय संसद, प्रदेश र स्थानीय तहतर्फ सोझिएको छ । कुनै समय रक्तअल्पताको औषधि सेवन गर्ने सांसदलाई लक्षित गर्दै सुत्केरीको औषधि खायो, पुरुष सांसद सुत्केरी भयो, भन्ने अफवाह फैलाइयो । त्यस्ता हर्कतबाट संसद कति बदनाम भयो र अतिवादलाई कसरी मलजल गर्यो ? ती हर्कत असोज १८ र माघ १९ को तयारी थियो भन्नेमा हामी सबै स्पष्ट नै छौँ’ उनले भने ।

प्रधानमन्त्री ओलीले न दोहोरो सुविधा लिनु ठिक होइन भन्न सके, न सालासाली स्वकीय सचिवमा नियुक्त गर्नु ठीक होइन भन्न सके बरु घुमाउरो पारामा त्यसलाई संस्थागत गर्ने काम गरे र मिडियालाई लोकतन्त्र मास्न उद्दत भएको आरोप लगाए । गल्तीलाई ढाकछोप गर्ने प्रधानमन्त्रीको यो तरिका कत्ति ठीक हो र होइन समयले निश्चय नै बताउला ।

Loading...