वैंशमा लाको पिरती हलचल… भन्दै आए केशव (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, २१ पुस, पछिल्लो समय परदेशमा बस्ने नेपालीहरु गीत, संगीतको क्षेत्रमा धेरै उदाएका छन् । कतिपयले उतै नेपाली गीत रेकर्ड पनि गर्ने गरेका छन् भने केहीले यता आएको मौकामा गीत रेकर्ड गराउँछन् । नेपाली गायक, गायिकाहरुका गीतमा मोड्लिङ गर्ने र भिडियो बनाइदिने परदेशीहरुको संख्या त अझ ठूलो छ । यसरी काम गर्नेहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेका र गैरआवासिय नेपालीहरु नै धेरै छन् ।

परदेशमा बसेर नेपाली गीत, संगीतप्रति उनीहरुले देखाएको मायाले नेपाली संगीत क्षेत्रलाई टेवा नै पुगेको छ । परदेशमा बस्दा नेपालको सम्झना र माया धेरै हुने भएकोले पनि उनीहरुले यो क्षेत्रमा लगानी गरिरहेका छन् भन्न सकिन्छ । अर्को कारण त नाम कमाउने वा चर्चामा आउने छिटो र छरितो माध्यम पनि गीत, संगीत नै हो र तेस्रो कारण भनेको आम्दानी गतिलो हुने भएकाले उनीहरुलाई लगानी गर्न सहज छ । जे र जुन कारणले नेपाली गीत, संगीतमा लगानी गरेको भए पनि यसले नेपाली गीत, संगीतको श्रीवृद्धिमा ठूलो योगदान पुर्याइरहेको छ ।

यस्तै क्रममा हाल अमेरिका बस्दै आएका केशव शर्मा दाहाल नेपाल आएको क्रममा खुसुक्क गीत रेकर्ड गराएर फर्किए । पूर्वेली भाकाको ‘वैंशमा लाको पिरती हलचल भन्छन्…’ बोलको गीतलाई स्टुडियो कभरको रुपमा अहिले युट्युवमा पनि सार्वजनिक गरिएको छ । यो उनको रेकर्ड भएको पहिलो गीत हो । हुन त यसअघि पनि नेपाल तथा अमेरिकाका विभिन्न कार्यक्रममा उनले नारायण गोपाल, फत्तेमान, भक्तराज आचार्यहरुका गीतहरु गाएर सुनाउँदै आएका थिए । तर अब भने यो गीतले केशवलाई गायकको रुपमा चिनाएको छ ।

यो गीतको शब्द तथा संगीत सुवास चाम्लिङको रहेको छ । यसको संगीत एरेन्ज चन्दु गोर्खालीले गरेका हुन् । उनले यो गीतको भिडियो पनि चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
नेपाल भ्रमणको क्रममा उनले अर्को एउटा गीत पनि रेकर्ड गरिएको सुनाए । सो गीत भने केही दिनपछि मात्रै सार्वजनिक हुने उनले बताए ।
हेर्नुहोस् यो गीतः