सशस्त्रका सिपाही र हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौँ, २१ पुस, रासनबापत नगद नै दिन थालेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सपाही–हवल्दारलाई लामो समय बिदामा पठाएर रासनभत्ता हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छानबिनमा खुलेको छ ।

रासन हिनामिनान गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । मुस्ताङको गुल्मका कार्यरत डिएसपी हरिबहादुर गुरुङ र खोटाङको गणमा कार्यरत डिएसपी धनबहादुर बानियाँमाथि कारबाही चलाइएको उनले बताए । दुबैलाई गुल्म÷गणपतिबाट हटाएर विभागीय कारबाही गरिएको हो । रासनभत्ता अनियमितताको उजुरी बढेपछि प्रहरी प्रधान कार्यालयले विशेष टिम नै बनाएर बाहिनी, गण, गुल्म तथा बोर्डर आउटपोस्ट (बिओपी) का प्रमुखमाथि कारबाही थालेको हो ।

सशस्त्रको उजुरी छानबिन शाखामा अन्य गण तथा गुल्मबाट समेत रासनमा अनियमिततासम्बन्धी उजुरी बढेका छन् । प्रधान कार्यालयले कारबाही नै गर्न थालेपछि उजुरी बढेका हुन् । ‘हामीले यसका लागि मनिटरिङ सेल नै गठन गरेका छौँ,’ डिआइजी श्रेष्ठले भने, ‘रासन अनियमितताविरुद्ध कडाइका साथ कारबाही सुरु भएको छ’ आजको नयाँ पत्रिकाले लेखेको छ ।

तस्विर: सांकेतिक