गायिका राईको ‘जुनी’ विमोचन

आजको म्यूजिक

काठमाडौँ, २० पुस, गत बुधबार राजधानीमा आयोजित एक समारोहमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालगायतका अतिथिहरूद्वारा गायिका जुनी खालिङ राईको पहिलो गीति एल्बम ‘जुनी’ विमोचन गरियो । नेपाली वाङ्मय परिषद्द्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि पूर्वमन्त्री शेर्पाले गीत–संगीतले समाजलाई परिवर्तन गर्ने सामर्थ्य राख्ने बताए । उनले भने, ‘त्यसैले सार्थक गीत–संगीतको प्रवद्र्धनमा कलाकारहरू लाग्नु पर्छ ।’ उनले गायिका राईको एल्बम ‘जुनी’भित्रका गीतहरू श्रुतिमधुर रहेको दाबी गरे ।

कार्यक्रममा गायिका लोचन भट्टराईले ‘गीत–संगीत मनोरञ्जनको साधन नभएर सभ्यता र संस्कृति’ भएको धारणा राखिन् । किरात राईका प्रचलित लोकगीतमा विद्यावारिधि गरेका डा. भक्त राईले ‘जुनी’ एल्बमका गीतहरू अब्बल रहेको बताए । उनले लोकजीवन र लोकलयमा आधारित गीत–संगीत कालजयी रहने विचार व्यक्त गरे । गायक तथा संगीतकार कृष्णभक्त राई र गीतकार टीका चाम्लिङले विमोचित एल्बमका गीतहरूले श्रोताको मन छुने बताए ।

साँघुरी गाउँपालिका–९, धनकुटाकी गायिका राईले ग्रामीण परिवेशमा घाँस–दाउरा गर्दा नै आफूले गीत गाउन सिकेको सुनाइन् । कार्यक्रममा उनले एल्बममा समाविष्ट गीत ‘यो नजरले त्यो नजर देखेझैँ लाग्यो’ गाएर सुनाएकी थिइन् ।

एल्बमभित्र गीतकार जीवन खालिङ राईको शब्द, तीर्थ खजुम र एमबी कुँवरको संगीत रहेको ‘तिम्रो मुस्कान’, जीवनकै शब्द अनि सन्देश याम्फू र गायिका स्वयम्को संगीतको ‘जोवन बाहेक छैन मसँग’, जीवनकै शब्द र सूर्य वालिङ राईको संगीत रहेको ‘साँझ–बिहान’, आशा राईको शब्द र कृष्णभक्त राईको संगीतको ‘यो नजरले त्यो नजर’, हरिप्रसाद राईको शब्द तथा संगीत रहेको ‘भेडेटारको डाँडैडाँडा’ र सुखकला राईको शब्द र कृष्णभक्त राईको संगीत रहेको ‘कस्तो माया बस्यो कुन्नि’ बोलका ६ गीत संग्रहित छन् । सबै गीतको संगीत संयोजन कृष्णभक्त राईले गरेका छन् । एल्बमको बजार व्यवस्थापन कञ्चन म्यूजिक प्रा.लि.को रहेको छ ।

Loading...