साना किसानलाई जीवन सम्झने भागिरथा

कृषि मुख्य समाचार

केशवराज भण्डारी, झापा, १९ पुस, एकल महिला भएर पनि कहिल्यै एक्लो महसुस नगरेकी लक्ष्मी बजगाई (भागिरथा) श्री नौलो भविष्य सानाकिसान कृषि सहकारी संस्था लि. वनियानीबाट कृषकको जीवनस्तरसँगै कृषि विकासमा योगदान गरिरहेकी छिन् ।

आफूमाथि बज्रपात हुँदा परिवारको स्नेहपूर्ण सहयोग पाएको सम्झदै उनी भन्छिन्, ”श्रीमानले उमेर छदै छाडेर गए पनि परिवारले सिकाएको पाठ मेरा लागि वरदान सावित भएको छ । त्यसैको फलस्वरुप आज सहकारी सञ्चालनमा र कृषकका हितमा रहेर काम गर्ने जोस जाँगर स्थिर छ मसँग ।” साँच्चै नै श्रीमानसँग बिछोडिएको एक्लो जीवन अनि अन्धो समाजको कुदृष्टी छिचोल्दै आफ्नो ज्यान साना किसानको उन्नयनकालागि खर्च गरेकी भागिरथा कचनकवल गाउँपालिकाकै उदाहरणीय महिलाको रुपमा परिचित छिन् । अत्यन्तै कठिन संघर्ष गरेकी भागिरथा भन्छिन् ”मलाई हरेक ठाउँमा अफ्ठ्यारो वातावरण बनाइदिने साथीहरुबाट नै मैले केही सिक्ने मौका पाएँ । म उहाँहरुलाई कहिल्यै पनि शत्रुवत ढंगले नहेरी पथप्रदर्शकको रुपमा हेर्ने गर्छु उहाँहरु प्रति कुनै नकारात्मक सोच राख्दिन ।”

श्रीमान बितेपछिको समय सम्झदै आँखा भरी आँसु पार्दै उनी भन्छिन् ”९ वर्षकी जेठी छोरी र ४ वर्षकी कान्छी छोरीलाई बिहान ५ बजे खाना पकाएर घरमै छाड्दै आफू बिहान ९ बजेसम्म साना किसान कृषि सहकारीमा काम गरेर पुनः घर गई चिसो खाना नानीहरुलाई खुवाउँथे ।” त्यस बखत आफ्नै सहकर्मीहरुबाट पनि असहयोग खेपेकी भागिरथाले आफ्नो पीडा लुकाउँदै कृषकको पीडा कम गर्न अभियान चलाइरहिन् । आज उनले सञ्चालन गरेको श्री नौलो भविष्य साना किसान कृषि सहकारी संस्थामा ९१९ घरधुरीका सदस्यहरुका १४३ वटा समूह आवद्ध छन् । सदस्यहरु ब्यवसायिक कृषिसँगै नियमित बचत गर्ने समूहका छलफल गर्ने, साना, मसिना समस्याहरु आफैँ समूहबाटै समाधान गर्न सक्ने भएका छन् ।

समूहबाटै ब्यवसायिक कुखुरापालन गर्ने गरेकी डोल सरी भन्छिन्, ”नौलो भविष्यले नै मेरो आय आर्जनको बाटो देखाइदियो, भागिरथा दिदीले सिकाउनु भएको ब्यवसायबाट आज मेरो आर्थिक अवस्था केही मजबुत भएको छ । हामी महिलाहरुका लागि दिदीले देखाउनु भएको बाटोबाट धेरै फाइदा भएको छ ।” डोल सरी थप्छिन्, ‘म त केही हुइन मजस्ता धेरै कृषक दिदी बहिनीहरुले भागिरथा दिदीलाई आमा ठान्ने गरेका छन् ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन स्थापना भएपछि कृषि विकासमा यान्त्रिकीकरणको सुरुवात गराएकी भागिरथाले सञ्चालन गरेको सहकारीमा सहुलियत भाडा दरमा किसानको बारीसम्मको सेवा दिने गरी धान रोप्ने, गोड्ने, काट्ने र झार्नेसम्मका मेसिनहरु सञ्चालनमा रहेका छन् । छरुवा प्रविधिमा जिलो टिलेज (बाँझो जमिनका सोझै रोप्ने), टुसाएको बिउ लाइनमा रोप्ने सिड ड्रिल, ट्याक्टरमा जोडेको ठुलो रिपर, गड्यौले (भार्मिक कम्पोष्ट) मल, लगायतका सेवा तथा सुविधाहरु किसानका लागि सञ्चालनमा ल्याएकी छिन् । धान खेतीमा नवीन प्रविधिको खोजी र अनुशरण, प्रयोगमा जोड दिएको सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा सोलार सिचाइ प्रविधिमा पनि आफ्नो सेवा क्षेत्रभित्रका कृषकहरुलाई वितरण गरेको छ । जसले कृषकहरुलाई सिंचाइको समस्यामा केही सहज भएको छ ।

कृषकहरुलाई अधिकतम ५ लाखसम्म कृषि कर्जाका लागि लगानी गरिरहेको बताउँदै भागिरथा भन्छिन्, ”हामीले धानखेतीका लागि मात्र नभएर परम्परागत कृषिको अन्त्य गरी ब्यवसायिक रुपमा बाख्रापालन, कुखुरापालन, बंगुरपालन, गाईपालन, डेरी पसल सञ्चालन, घाँस खेती, तरकारी खेती, माछापालन, कुटानी पिसानी साना उद्योग लगायतमा कृषि कर्जा कृषकहरु माझ पुर्याएका छौँ ।”

धान उद्योगहरुमा धान सुकाउने ड्रायरको ब्यवस्थापन गर्न सके कृषकले उत्पादन गरेको धान खेतबाट नै बिक्री हुने बताउँदै उनी भन्छिन्, ”उत्पादन वृद्धिका लागि हामी संघर्ष गरिरहेका छौँ किसानसँग धान सुकाउने प्रविधि छैन ठुला ठेला सेलर मिलहरुसँग पनि यो प्रविधि नभएका कारण किसानलाई धान बेच्न मुस्किल पर्ने गरेको छ ।”