टीकापुर घटनाका मुख्य दोषि चौधरीद्वारा सांसदको सपथग्रहण

मुख्य समाचार राजनीति

काठमाडौँ, १९ पुस, टीकापुर घटनाका मुख्य दोषि ठहर गरी थुनामा रहेका प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गरेका छन् । सदरखोर डिल्लीबजारबाट कडा सुरक्षाबीच शपथस्थल सिंहदरबार पुर्याइएका चौधरीलाई सभामुख कृष्णबहादुर महराले शपथ खुवाए । शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गरेका थिए भने संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न प्रदान गरेका थिए ।

शपथ कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, पूर्वसंयोजक महन्थ ठाकुर, सदस्य शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्रराय यादवलगायत नेता पनि सहभागी थिए ।

चौधरीलाई शपथपछि पुनःडिल्लीबजार कारागार लगिएको छ । टीकापुर घटनापछि फरार चौधरीले प्रतिनिधिसभा सदस्यको शपथ हुनु एक हप्ता अगाडि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) कातर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुन् ।

Loading...