मन्त्री, महाप्रबन्धक र सचिवलाई जेल हाल्न छानबिन समितिका सदस्यको माग

पर्यटन मुख्य समाचार विषेश समाचार

काठमाडौं, १९ पुस, नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको दाबी गरे । उनले भने, ‘ठूलो मास्टर प्लान बनाएर वाईडबडी खरिदमा घोटाला भएको छ । खरिद गर्दा सार्वजनिक खरिद ऐन पनि मानेको छैन ।’ उनले जहाज ‘ग्लोबल टेण्डर’ नगरिकन किनिएको पनि आरोप लगाए । उनले भने, ‘फ्रान्ससँग किन डाईरेक्ट किनिएन ? भ्रष्टाचार गर्नकै लागि विचौलिया राखिएको छ ।’

३८ जनाको भोजभतेर
उनले जहाज खरिदको नाममा युनियनका नेतासमेत गरी ३८ जना भोजभतेर खानको लागि भ्रमणमा गएको दाबी गरे । उनले थपे, ‘भ्रमणको नाममा पनि करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको छ ।’ उनले जहाज खरिदको ओरिजिनल बिल महाप्रबन्धक सुगतरत्न कंशकार र मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक गर्नुपर्ने बताए ।

कंशकारबाट छानविनमा असहयोग
छानबिन गर्दा आफूहरुलाई कुनै दबाब नआएको उनले स्पष्ट पारे । उनले भने, ‘समितिलाई कुनै पनि दबाब आएको थिएन । तर, निगमका महाप्रबन्धक कंशकारबाट हामीलाई आवश्यक सहयोग भएन । उहाँले हामीले मागेको प्रतिवेदन दिनुभएन ।’

यादवले तत्काल महाप्रबन्धक कंशकारलाई निलम्बन गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई हतकडी लगाउनुपर्ने उनको भनाई छ । उनले भने, ‘यो प्रकरणका भ्रष्टाचारीहरुलाई हतकडी लगाउनुपर्छ । पर्दा पछाडि नायकहरु पनि होलान् । ती सबैलाई पर्दाफास गर्नुपर्छ ।’

अझैबढी घोटला भएको अनुमान
उनले आफूहरुले बाहिर ल्याएको प्रतिवेदनमा उल्लेखित ४ अर्ब ३५ करोड ५६ लाख रकम घोटाला रकम बढ्ने पनि स्पष्ट पारे । उनले भने, ‘यो आंशिक हो । ओरिजिनल बिल कहाँ गयो ? यो प्रकरणमा जो÷जो संलग्न छन्, ती सबैलाई कारबाही गर्नुपर्छ ।’

Loading...