काठे पुल तरेबापत जनताबाट १५ लाख राजश्व संकलन

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार

धनगढी, १५ पुस, जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ र जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ । स्थानीय जनताले प्रत्येकपटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ । पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा कोठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजश्व उठाउन थालेको छ ।

गाउँपालिकाभित्र पर्ने मोहना नदी तर्न निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिकामार्फत काठेपुल बनाइएका छन् । नदीपारिका बस्ती मोहनपुर, शिवरत्नपुर र भारतीय बजार चन्दनचौकीमा ओहोरदोहोर गर्न वर्षायाम सकिएपछि काठेपुल राखिएको हो ।

नदीमा पुल नभएकाले विगतदेखि नै पैसा तिरेर नदी पार गर्ने गरेको वडा नं. १ हसुलिया गाउँकी सोनम चौधरीले बताइन् । नदी तर्ने अर्को कुनै विकल्प नहुँदा चर्को शुल्क तिर्न बाध्य रहेको उनले बताएको आजको नयाँ पत्रिकाले लेखेको छ ।

कर असुल्न ठेकेदार
गाउँपालिका कार्यालयले काठेपुल निर्माण गरी कर असुल्न ठेकेदार खटाएको छ । विगतमा गाविस कार्यालयमार्फत काठेपुल तरेको कर असुली हुने गरेकोमा जनप्रतिनिधि आएपछि स्थानीय तहले पनि यो कार्यलाई निरन्तरता दिएको हो ।

चारवटै घाटको ठेक्काबापत गाउँपालिकाले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्ने गरेको कैलारी गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष कमल चौधरीले जानकारी दिए ।