मनोहरा साहित्य समाजद्वारा बुनु र त्रिभुवन अभिनन्दित

मुख्य समाचार विषेश समाचार साहित्य

काठमाडौँ, १४ पुस, महाकाव्यकार बुनु लामिछाने र साहित्यकार तथा पत्रकार त्रिभुवनचन्द्र वाग्लेलाई अभिनन्दन गरिएको छ । मनोहरा साहित्य समाजले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शनिवार ग्लोबल पब्लिक स्कूल, टाउनप्लानिङ पुरानो सिनामंगलमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई अभिनन्दन गरेको हो ।


साहित्यकार तथा पत्रकार त्रिभुवनचन्द्र वाग्ले अभिनन्दन पत्र ग्रहण गर्दै

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकूलपति वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले दुबै स्रष्टाहरुलाई दोसल्ला ओढाएर अभिनन्दन गरे । मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालले टोपी लगाई दिएर, दोसल्ला ओढाएर र सम्मानोपहार अर्पण गरेर डा. गुरुङलाई विधिवत प्रमुखअतिथि वरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. गुरुङले स्रष्टाहरुको उत्तरोत्तर प्रगतिको कामना गरे । आफू साहित्य क्षेत्रको नभए पनि मनोहरा साहित्य समाजले आफूलाई पहिलेदेखि नै बोलाउने र सहभागी गराउने गरेको उल्लेख गरे । आफू प्रज्ञाप्रतिष्ठानमा रहेकोले अब संस्थागत रुपमा पनि समाजसँग सहकार्य गर्न चाहेको उल्लेख गरे । उनले भने, मनोहरा साहित्य समाजसँग प्रज्ञाप्रतिष्ठानको सहकार्य हुनुपर्छ भन्ने कुरा म राख्छु ।’ यसरी सक्रिय रुपमा भाषा र साहित्यको क्षेत्रमा क्रियाशील संस्थासँग सहकार्य गर्नु प्रतिष्ठानकालागि पनि फाइदाजनक हुने उनले बताए ।

अर्को प्रसङ्गमा बोल्दै डा. गुरुङले यो पटकबाट प्रतिष्ठानले राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउे उल्लेख गरे । पुस २७ गते हुने सो कार्यक्रम विशेष र राष्ट्रिय एकता झल्किने खालको हुने पनि उनले दाबी गरे ।

कवि पुरुषोतम सिग्देल सम्मान ग्रहण गर्दै

कार्यक्रममा कवि पुरुषोतम सिग्देल र कवि डिल्लीप्रसाद मुलतिहुनलाई पनि दोसल्ला ओढाएर प्रतिभा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । सो कार्यक्रममा सम्मानित स्रष्टा पुरुषातम सिग्देल, सम्मानित स्रष्टा डिल्लीप्रसाद मुलतिहुन्, अभिनन्दित स्रष्टा बुनु लामिछाने, तारा गाउले, खोलाघरे साहिंला, जगदिश्वर पोखरेल, खेमलाल पोखरेल, सम्पत काफ्ले, मुना खतिवडा, गणेश घिमिरे मार्मिक, प्रकाश बस्नेत गफाडी, गोविन्द नेपाल, गोपाल नेपाल, डम्वर घिमिरे, रत्ननिधि रेग्मी, प्रेमनाथ घिमिरे, गंगा आचार्य, नारायण ज्ञवाली, समीर पाख्रीन, भगवती पाण्डे, तोया भट्ट, कालीचरण बस्नेत, घनश्याम प्रसाई, ४ वर्षीया आर्या घिमिरे, बालिका सर्मिष्ठा लामिछाने र प्रेक्षा लम्सालले कविता, गीत, गजल, मुक्तक पनि सुनाएका थिए ।

कवि डिल्ली प्रसाद मूलतिहुन सम्मान ग्रहण

अभिनन्दित स्रष्टा त्रिभुवनचन्द्र वाग्ले, डा।खगेन्द्रनाथ शर्मा, प्राचार्य मातृका कार्की, प्रा.डा. भीम सुवेदी, अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरेले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा वाचित रचनाको संक्षिप्त समीक्षा भावकेशर बरालले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन प्रकाशमणि दाहालको र संचालन शीतल गिरीको रहेको थियो ।

Loading...