उखु किसानको पीडामा सख्खरको मल्हम

कृषि मुख्य समाचार

केशवराज भण्डारी, झापा, १३ पुस, हाम्रो देश कृषि प्रधान भनेर बारम्बार दोहोरिरहने शब्द केबल कागजमा मात्र सीमित हुने जोखिम बढेको छ । किसानले उत्पादन गरेको उखु बिक्रीका लागि भनेर राज्यले न्यूनतम मूल्य निर्धारण गरिसकेको अवस्थामा पनि विगत २ वर्षदेखि झापामा उखु बिक्नै छाडेको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा विशेष गरेर बृहत रुपमा उखुखेती गरिदै आएको छ । विगत २२ वर्षदेखि उखुखेती गर्दै आएका किसानहरुलाई २ वर्ष यता उखु बिक्री गर्न समस्या देखिएको छ । अर्जुनधारा ५ का रत्न बहादुर वन भन्छन् ‘२०५६ सालदेखि उखु खेती गर्दै आएँ । २०७३ साल भन्दा अगाडि कम मूल्यमा भए पनि उखु बिक्री हुन्थ्यो तर बितेको २ वर्ष यता उखु दाउराको रुपमा परिणत भएको छ । जसले गर्दा हाम्रो रोजिरोटी नै हरायो ।’

उता अर्जुनधारा ५ कै मिना भारतीको दुःख पनि कम छैन । उनी भन्छिन्, ‘उखु कम मूल्यमै भए पनि बेच्न पाए केही राहत हुने थियो, दाउरामा परिणत भएको उखु बारीबाट झिक्न समेत खर्चले नधान्ने अवस्थामा पुग्यौँ ।’

यसरी कृषकहरुलाई उखु नबिकेर समस्या परिरहेको सन्दर्भमा अर्जुनधारा ५ का सुवास राजवंशीले भने भारतबाट कालिगढ मगाएर उखुको सख्खर बनाउने उद्योग स्थापना गरेका छन् । अर्काको जमिन लिजमा लिएर उखुखेती गरिरहेका राजवंशी भन्छन्, ‘सुरुमा अर्काको मेसिन प्रयोग गरेर सख्खर बनाएँ । त्यसबाट धेरै खर्च भएर खर्चले धान्न नसकेपछि ऋण गरेरै भए पनि आफैँ मेसिन खरिद गरेर उद्योग चलाउँदै छु ।’ प्रति घण्टा १ लिटर डिजल प्रयोग हुने मेसिनबाट दिन भरिमा २ सय ६५ लिटर उखुको रस निकाल्न सकिने बताउदै राजवंशी भन्छन् ‘यो बारीमा मेसिन राख्दा जग्गा धनिले गाली गरे त्यति मात्र कहाँ हो र सबैको हाँसोको पात्र बनेको छु ।’ दैनिक एक सय केजी विना मिसावटको सख्खर बनाउदै खुदो पनि बेच्ने गरेका राजवंशीले दैनिक ज्यालादारीमा ५ जनालाई रोजगारी समेत दिएका छन् । उनी भन्छन्, ‘यो उद्योग स्थापना गरेर थाम्न सकेँ भने झापामा उखु बिक्री नहुने समस्या आउन दिन्न । तर मिसावटयुक्त भारतीय सख्खरका कारण हामी मारमा परेका छौँ । प्रति केजी एक सयका दरले सख्खर बेच्न पनि हामीलाई समस्या परेको छ ।’

उता सुवास राजवंशीकी श्रीमती उर्मिला राजवंशी भन्छिन्, ‘जग्गा लिजमा लिएर खेती गरेको हाम्रो उखु बारीमै सुकाएर १० लाख ऋणमा फस्यौँ । त्यसपछि यस वर्षबाट अझ ऋण गरेरै भए पनि सख्खर बनाउने मेसिन जोडेका हौँ ।’ राजवंशी जोडीले सञ्चालन गरेको सख्खर उद्योगबाट दैनिक १ सय केजी सख्खर साथै खुदो र मुरै डल्ला उत्पादन हुँदै आएको छ । जसले उखु किसान राजवंशीको घाउमा सख्खरको मल्हम होलाकी भन्ने आशा पलाएको छ ।

किसानको उखु नबिक्ने समस्या यो वर्ष मात्र हैन २ वर्ष बितिसक्दा पनि राज्य उदासिन देखिएको छ । अर्जुनधारा ५ का वडा अध्यक्ष ध्यानबहादुर भारती भन्छन्, ‘उखु खरिद गर्ने ब्यापारी आफैँले ठूलो क्षेत्रफलमा उखुखेती गरेपछि सानो ३‐४ विगाहामा खेती गर्ने कृषकहरु मारमा परेका छन् ।’ आफू पनि उखु किसान नै भए पनि आफूले यस बारे केही गर्न नसकेको बताउँछन् । सुवास राजवंशीले सञ्चालन गरेको सख्खर उद्योगलाई राज्यले नभए नगरले, त्यहाँबाट पनि नभए वडाबाट भए पनि बृहत बनाउदै मिसावट रहित सख्खर उद्योगको स्थापना गर्न तयार भएको उनले बताए । वडा अध्यक्षको यस प्रकृतिको प्रतिवद्धताले अब उखु किसानको समस्या केही हदसम्म हल हुने निश्चित छ । तर सख्खरको बजार सुनिश्चित हुन भने जरुरी छ ।

Loading...