तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट हराएकाहरूको खोजी कार्य तिब्र

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, १३ पुस, ‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरूको खोजी प्रहरीले तीव्र पारेको छ । उनीहरू बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो । हराएकाहरूबारे परिवारसँग विस्तृत रूपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले बताएको आजको कान्तिपुरले लेखेको छ  ।

‘बम्जन अहिले सिन्धुलीस्थित आश्रममा रहेको अपुष्ट जानकारी आएको छ,’ गुरुङले भने । बाराको हलखोरियामा तपस्या सुरु गरेका बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँ, सर्लाहीको पत्थरडाँडा, लमजुङ र सिन्धुलीमा तपस्यास्थल रहेको प्रहरीको भनाइ छ ।

हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फूलमाया रुम्बा २०७१ देखि हराएकाले खोजी गरिदिन भाइ विजय रुम्बाले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए । मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइबाले पनि बाबु सञ्चलाल वाइबा बम्जनकै तपस्यास्थलबाट बेपत्ता भएको भन्दै बुधबारै उजुरी गरेका थिए ।

फूलमाया २०६८ मा आनी बन्न घरबाट गएकी थिइन् । त्यतिबेला बम्जन हलखोरियामै थिए । हलखोरियाबाट विभिन्न स्थान हुँदै सिन्धुपाल्चोक पुगे । २०७१ अन्तिमसम्म फूलमायासँग घरपरिवारको सम्पर्क भइरहेको थियो । त्यसपछि सम्पर्क टुटुेको र खोजी गर्दा फेला नपरेको भाइ विजयले बताए । २०७२ को भूकम्पपछि बम्जनको सिन्धुपाल्चोकस्थित तपस्यास्थल पुग्दा फूलमायासँग भेट्न नपाएको उनले जानकारी दिए ।

२०७० मा बम्जनसँग हिँडेका सञ्चलाल २०७१ चैत १५ यता सम्पर्कविहीन छन् । सिन्धुपाल्चोकस्थित तपस्यास्थल पुगेर छोरा महेन्द्रले सोधपुछ र खोजी गर्दा फेला पार्न सकेनन् । सबैतिर खोज्दा फेला पार्न नसकेपछि उनले प्रहरीमा उजुरी गरेका हुन् ।

खोजी गर्न परिवारको आग्रह
नुवाकोट म्यगङ गाउँपालिका–३, देउरालीकी चिनीमाया तामाङ पनि ६ वर्षदेखि बेपत्ता भएको भन्दै खोजी गरिदिन आग्रहसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

२९ वर्षीया आनी चुन्मोडोल्मा तामाङ बम्जनको आश्रमबाट हराएको भन्दै उनकी माइली दिदी गंगामायाले उजुरी गरेकी हुन् । उजुरीमा ०६८ मा सिन्धुलीमा बम्जनको आश्रममा पढ्न गएकामा २०६९ असोजमा बहिनी र मकवानपुरकी पासाङ तामाङसँग घर आई एक दिन बसेको र आश्रम जान्छौं भनी फर्किएकामा त्यसपछि सम्पर्कविहीन रहेको उल्लेख छ ।

आश्रममा गई खोजतलास गर्दा ‘यहाँ छैन, कहाँ गएको हो, हामीलाई थाहा छैन’ भनिएको उजुरीमा उल्लेख छ । उनको घरमा बुबा, आमा र दुई भाइ छन् । जेठी, माइली र कान्छी दिदीको विवाह भइसकेको छ । उनी साइँली छोरी हुन् ।

Loading...