प्रस्तावित प्रधानन्यायाधीश राणामाथि ९ वटा उजुरी

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, १३ पुस, प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि नौ वटा उजुरी दर्ता भएका छन् । संसदीय सुनुवाइको प्रक्रियामा हालिएका उजुरीमध्ये चारवटा विषय सैद्धान्तिक रूपमा एकै प्रकृतिका छन् । अन्य पाँचवटा उजुरीहरू भने न्यायिक काम कारबाही र वैयक्तिक आचरणमाथि प्रश्न गरिएका छन् ।

सबैभन्दा धेरै उजुरी तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेरहदको विवादपछि गरिएको इजलास बहिष्कारलाई बनाइएको छ । त्यस्तै, कान्तिपुर पव्लिकेशन विपक्षी रहेको अदालतको अपहेलना मुद्दामा न्यायिक प्रक्रिया नै अवरोध गरेको भन्नै विषयमा पनि एकभन्दा बढी व्यक्तिका उजुरी छन् ।

यस्तै, नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको नाममा दाइजो कायम गरेको विषयमा पनि एकभन्दा बढी व्यक्तिका उजुरी छन् । पर्सामा पोखरी समेत रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरेको विषयमा पाँच जनाको उजुरी रहेको आजको गोरखापत्रले लेखेको छ ।

के–के छन् राणा माथिका उजुरी?
(१) जबरामाथि पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाको दाइजो विवादको मुद्दामा बदनियत गरेको आरोप लगाइएको छ । यस्तै, सोही प्रकरणमा सर्वोच्चले पुनरावलोकन समेत गरिसकेको मुद्दामा जबरा अदालतको नेतृत्वमा पुग्न लाग्दा पुनः संवैधानिक इजलासमा रिटमार्फत सुनुवाइको प्रपञ्च गरिएको आरोप पनि जबरामाथि एक उजुरीकर्ताले लगाएका छन् । संवैधानिक इजलासको नेतृत्वमा प्रधानन्यायाधीश स्वयम् रहने हुँदा जबरालाई नेतृत्वमा पुर्याउन नहुने दाबी एक उजुरीकर्ताको छ ।

(२) कान्तिपुर पव्लिकेशनविरुद्धको अपहेलना मुद्दामा बेन्च अवरुद्ध पारेको विषयमा समेत छानविनको माग गरिएको छ । एक उजुरीकर्ताले उनी प्रधानन्यायाधीश भएमा लोकतन्त्र नै समाप्त पार्ने खेलमा लाग्ने पनि दाबी पेस गरेका छन् ।

(३) तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले तोकेको इजलास बहिष्कार लगायतका विषय न्यायिक परम्परा विपरीत भएको भन्दै जबरामाथि कारबाहीको माग समेत भएको छ । सबैभन्दा बढी उजुरी अपहेलना मुद्दा र उमेर विवादको आवरणमा जबराले इजलास बहिष्कार गरेको विषयलाई नै बनाइएको छ ।

(४) सार्वजनिक उजुरी अनुसार पर्साको तत्कालीन वीरगन्ज उपमहानरपालिका–२, को एक सार्वजनिक पोखरी समेत रहेको जग्गा विवादमा जग्गाधनी दाबी गरेका प्रमोदविक्रम शाहको नाममा दर्ता हुने जबराको आदेश प्रचलित कानुन र नजिर विपरीत भएको उजुरीकर्ताको दाबी छ । जिल्ला र तत्कालीन पुनरावेदन अदालतले सार्वजनिक कायम हुने आदेश गरेको उक्त विवादमा जबरासहितको इजलासले व्यक्तिको नाममा दर्ता हुने आदेश गरेको उजुरीमा उल्लेख छ ।

(५) चार उजुरीकर्ताको उजुरी भने सैद्धान्तिक प्रकृतिका छन् । जसमा जबराको पृष्ठभूमि विवादास्पद रहेको, विशेष अदालतमा रहँदादेखि नै संविधान, नजीर विपरीत फैसला गरेकाले न्यायालयको सर्वोच्च पदमा पुर्याइनु उचित नहुने उजुरीमा उल्लेख छ ।

(६) प्रस्तावित प्रधानन्यायाधीश जबराले प्रचलिन कानुनी मान्यता र न्यायिक निष्पक्षतामा समेत प्रश्न उठ्ने गरी विभिन्न आदेश र फैसलाहरू समेत गरेको उजुरीमा उल्लेख छ । विशेष र सर्वोच्च अदालतका आदेश र फैसलाहरू अध्ययन गर्न उजुरीकर्ताको आग्रह छ ।

(७) विशेषमा रहँदा जबरासहितको इजलासले हेरेका ३६ मध्ये ३५ मुद्दामा सफाइ दिएको आरोप पनि उजुरीकर्ताको छ ।

(८) एक उजुरीकर्ताले जबराको न्यायिक क्षेत्रमा प्रवेश नै सौदाबाजीका रूपमा भएको भन्दै न्यायिक नेतृत्वमा पुर्याउन नहुने जिकिर गरिएको छ ।
(९) राणाले जुवालाई वौद्धिक खेल भनी फैसला गरेको, विशेष अदालतमा रहँदा भ्रष्टाचारका मुद्दामा सफाइ दिने काम गरेको आरोप पनि लगाइको छ ।

Loading...