विप्लव भेटिएनन्, राउत खोजिएनन् : द्वन्द्वरत ४५ समूह पहिचान, २३ सँग वार्ता

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १३ पुस, देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ सँग वार्ता गरेको छ । तीन चरणमा भएको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटक–पटक वार्तामा बसेर सहमतिमा पुगेको जनमुक्ती सेना नेपाल भने सम्झौता गर्ने बेला सम्पर्कमै नआएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूह, जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूह र खुम्बुवान मुक्ति मोर्चा (संयुक्त) ले पेस्तोल, रिभल्वर लगायत ३३ थान हतियार बुझाएको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताए ।

विप्लव र सिके राउतसँग किन भएन वार्ता ?
सरकारले खासगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने लक्ष्य लिएको थियो । वार्ता टोलीले विप्लवलाई भेट्न धेरै कोसिस पनि गर्यो तर विप्लवले भेट दिएनन् । संयोजक पाण्डे भन्छन्, ‘हामीले विप्लव समूहका केन्द्रीय सदस्यसम्मका नेतासँग वार्ताका लागि छलफल गर्यौ । तर, विप्लवसँग भेट गारउने वातावरण मिलाउनु भएन । चाहँदा पनि भेट्न पाएनौँ वार्ताको वातावरण नै नबनाएपछि आधिकारिक पत्र पनि पठाएनौँ ।’

यता छुट्टै स्वतन्त्र मधेस राज्य माग गर्दै भूमिगत आन्दोलनमा रहेका सिके राउतसँग भने सरकारले वार्ताको योजना नै नबनाएको संयोजक पाण्डेले बताए । उनले भने, ‘हामीलाई पहिलेदेखि नै सिके राउतसँग वार्ता गर्ने म्यान्डेट थिएन, देश टुत्र्याउन खोज्ने पृथकतावादीसँग वार्ता गर्ने कुरै हुँदैन ।’