अर्जुनधारा प्रवेशद्वारको शिलान्यास

प्रदेश मुख्य समाचार

केशवराज भण्डारी, झापा, अर्जुनधारा नगरपालिकाकोे नगर प्रवेश गर्ने मुख्य मार्गमा गेटको शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिकाले नगर प्रवेशमार्गमा नगरको वस्तुस्थिति एवम् विशेषता झल्किने आकृतिसहितको गेट निर्माण गरिने भएको हो ।

अर्जुनधारा–६ र विर्तामोड–५ नगरको सीमा स्थल महानन्द चौकमा निर्माण हुने प्रवेशद्धारसहितको आकृतिहरु निर्माणका लागि प्रदेश सांसद वृख प्रधान, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना र विर्तामोड नगरपालिकाका नगर प्रमुख धुव्र शिवाकोटीेले संयुक्त रुपमा शिलान्यास गरे ।

नगरपालिकाका स्वीकृत वार्षिक बजेटअनुसार महानन्द चौकमा स्वागत द्वार र फाइबरका ६ वटा शालिक निर्माणका लागि ३५ लाख लागत बराबरको कार्यक्रम संचालन गरिने भएको छ । जसमा प्रवेशमार्गमा प्रवेशद्वारका गेट निर्माणका लागि २० लाख रुपैंया र ६ वटा शालिक निर्माणका लागि १५ लाख रुपैंया गरी ३५ लाख रुपैंया अर्जुनधारा नगरपालिकाले छुट्याइ सकेको छ ।

महानन्द चौकमा निर्माण हुने प्रवेशद्वारमा गाईसहितको पाण्डुपुत्र अर्जुनको शालिक ९ फिट उचाईको रहने छ । त्यसमा आदिकवि भानुभक्त आचार्य, कवि मोतिराम भट्टको अर्धकदको शालिक र साहित्यकार महानन्द सापकोटाको पूर्णकदको शालिक निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष मित्र खतिवडाले बताए । उपभोक्ता समिति संक्रिय भएर काम गरी आगामी २०७६ वैशाख मसान्तभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको अध्यक्ष खतिवडाले जानकारी दिए ।

अर्जुनधारा–६ का अध्यक्ष लोकनाथ गौतमको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, विर्तामोड–५ का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।