नेपालमा साम्राज्यवादी र विस्तारवादीहरुको दलाली गरेर राज्यसत्तामा तर मार्ने कम्युनिष्टहरु मात्रै छन् : चित्रबहादुर केसी

अन्तर्वार्ता मुख्य समाचार विषेश समाचार

२६ डिसेम्बरलाई विश्वभरका कम्युनिष्टहरुले चीनका कम्युनिष्ट नेता माओत्से तुङको जन्मजयन्तीका रुपमा मनाउँछन् । यसैक्रममा नेपालका कम्युनिष्ट पार्टी र तीनका नेताहरुले पनि माओलाई आ–आफ्नो तरिकाले सम्झने प्रयास गरे । माओलाई वाद नै मानेर नेपालमा नयाँ जनवादी क्रान्ति गर्दै आइरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अनेक रुप परिवर्तन गर्दै अन्ततः जनताको बहुदलिय जनवाद बोकेको नेकपा एमालेमा बिलिन भइसकेको छ । अर्थात् उसले बोकेको माओवादलाई औचित्यहीन ठान्दै अर्कै धारमा परिवर्तन भइसकेको छ । यो अवस्थामा पनि नेपालका केही कम्युनिष्ट पार्टीहरुले माओलाई सम्झिनसम्म भने भ्याए ।

यसै अवसरमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पनि १२६ औँ माओ जयन्ती मनाएको छ । सो कार्यक्रममा भेटभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीसँग आजको खबरका सम्पादक डिल्ली रमण सुवेदीले संक्षिप्त कुराकानी गरेका छन् । त्यसको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।

माओ जयन्ती मनाइरहँदा चीनका परिवर्तनकामी नेता माओलाई कसरी सम्झिनु हुन्छ ?
— माओले जसरी अमेरिकी साम्राज्यवाद, पश्चिमा साम्राज्यवाद र चेनकाइसेकलाई पराजित गर्न सक्नु भयो र चीनमा नयाँ जनवादी क्रान्ति गरेर विश्व कम्युनिष्ट आन्दोलनको एक उदाहरण पनि बन्नु भयो । त्यसबाट हामीले बुझ्नु पर्ने कुरा के छ भने, मानव जातिभित्र शोषण कायम रहेसम्म कम्युनिष्ट पार्टी रहिरहन्छ । जबसम्म यो धर्तीमा मानिसले मानिसलाई शोषण गर्ने प्रथा अन्त्य हुन्न, तबसम्म कम्युनिष्ट पार्टीको पनि अन्त्य हुन्न । बेला बखतमा आउने विघटन, र बिसर्जनले पनि केही हदसम्म कम्युनिष्ट आन्दोलनलाई धक्का त पुर्याउँछ तर त्यसबाट शोषणका विरुद्धमा चल्ने निरन्तर आन्दोलन चाहिँ चलिरहन्छ त्यो रोकिँदैन भन्ने कुरा माओले देखाउनु भएको छ ।

नेपाली राजनीतिमा माओ दिवस मनाउनुको अर्थ वा औचित्य के हुन्छ ?
— नेपालमा अहिले पनि कम्युनिष्टको नामबाट साम्राज्यवादी, विस्तारवादीहरुको दलाली गरेर राज्य सत्तामा तर मार्नेहरु छन् । जसले नाम राखेका छन् ती कम्युनिष्ट नै होइनन् । त्यो कम्युनिष्ट नामको बदनाम भाको छ त्यसबाट नेपाली जनता स्पष्ट हुनुपर्छ । नेपालमा नयाँ जनवादी क्रान्ति भइसक्यो, अब समाजवादी क्रान्ति मात्रै अवश्यकता छ भनेर भ्रम फिँजाइरहेका छन् त्यो सरासर झुट हो । त्यसकारणले नेपालमा नयाँ जनवादी क्रान्ति गरेर नेपालबाट सामन्तवाद, साम्राज्यवादको अन्त्य नगरिकन नेपाली जनताको मुक्ति पनि हुन सक्दैन र नेपालको राष्ट्रियताको पनि संरक्षण पनि हुन सक्दैन ।

भनेको के अब फेरि अर्को नयाँ क्रान्ति गर्नु पर्यो भनेको हो ?
— नयाँ जनवादी क्रान्ति त गर्ने पर्छ नि । हामीले अहिलेसम्म गरेको त आन्दोलन हो, मात्रात्मक परिवर्तन हो, अहिले जुन आन्दोलन भयो, परिवर्तन भयो त्यसले त नेपालीहरुको आधारभूत समस्या त समाधान भाछैनन् । विदेशीहरुको मालसामान ल्याएर बेचेर दलाल पूँजीपतिहरुले जुन रजाई गरिरहेका छन्, ब्यापार गरिरहेका छन् त्यसबाट त नेपाली जनताको समस्या समाधान त भाछैन । त्यसकारणले नेपालमा नयाँ जनवादी क्रान्तिको नितान्त आवश्यक छ । आधारभूत परिवर्तन नभएसम्म नेपाली जनताका आधारभूत समस्याको पनि समाधान हुन सक्दैन ।

यो पूरा गर्ने चाहिँ कसले त ?
— पूरा गर्ने नेकपा मसालले ।

नेकपा मसालले पूरा गर्न सक्छ भन्ने आधार के छ त ?
— मसालले गर्न सक्छ, त्यो त गरेपछि देख्ने न हो । त्यसमा चाहिँ मसालले लगातार आफ्ना संघर्षहरु अघि बढाईरहेको छ, काम गरिरहेको छ ।

तपाईं राष्ट्रिय जनमोर्चाको अध्यक्ष हुनुहुन्छ, यही संविधान अन्तर्गतको सरकारको उपप्रधानमन्त्री पनि बनिसक्नु भयो, संघीयताको विरोध गर्दै हुनुहुन्छ र नयाँ क्रान्तिको आवश्यकता छ र त्यसको नेतृत्व मसालले लिन्छ भन्नु हुन्छ तपाईंले फेरि नेतृत्व लिँदा जनताले साथ दिन्छन्, पत्याउँछन् भन्ने लाग्छ ?
— अझै देश अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थामा छ । जब नेपालीहरुले आफ्नो संविधान जारी गरेवापत भारतले नाकाबन्दी गर्यो । यो अवस्थामा राष्ट्रिय जनमोर्चा सत्तामा जान मनलागेर, सत्ताको रसास्वादन गर्नलाई होइन । भारतीय विस्तारवादको भण्डाफोर गर्नलाई, आफ्ना विचार, सिद्धान्त र आफ्ना कुराहरु सरकारमा गए पनि, संसदमा रहे पनि हामीले त्यस किसिमको हाम्रो लडाई कायम गर्यौँ । त्यसकारणले सरकारमा हामी संघीयताको विरोध गर्ने छैनौँ भनेर गएका होइनौ, देशी, विदेशी सबैप्रकारका प्रतिक्रियावादीहरुको लुटको विरोध गर्ने छैनौँ, समर्थन गछौँ भनेर गएकै होइनौँ । सरकार बाहिर रहेर पनि सरकारमा गएर पनि हामीले पार्टीको राजनीति र सिद्धान्तलाई निरन्तर अघि बढायौँ । त्यसकारणले सरकारमा जानुको औचित्य हामी त्यसरी प्रमाणित गछौँ ।

संघीयताको औचित्य छैन भन्दै हुनुहुन्छ, तर हामी संघीयता कार्यान्वयनको चरणमा निक्कै पर पुगिसकेका छौँ, यो अवस्थामा पनि खारेज नै गर्नुपर्छ कि यसलाई व्यवस्थित गरेर अघि बढ्न सकिन्छ ?
— केले गर्नु हुन्छ व्यवस्थित ? यो स्वयम् संघीयताको ठेक्का लिएकाहरुका त मनमा जौटिल बाँध्या छ । यो कार्यान्वयन हुँदैन, यो सम्भव छैन, यसलाई खारेज गर्नु पर्छ भन्ने नै हो । यो कार्यान्वयनमा गाछ, लागू गर्नुपर्छ, सफल गर्न सकिन्छ भन्ने त संघीयता बोकेर हिड्नेका मनमा पनि छैन । केन्द्र र प्रदेशकाबीचको संघर्ष, प्रदेश र स्थानीय तहबीचको संघर्ष यी सारा कुराले के देखाउँछ भन्दाखेरि यति छोटै समयमा संघीयता घर न घाटको हुने स्थिति छ । त्यसकारणले बाह्य शक्तिहरुले मुलुकलाई संघमा लगेर मुलुकमा जातीय, क्षेत्रीय, भाषिक, धार्मिक द्वन्द्व बनाउने जुन षड्यन्त्रपूर्वक यसलाई संघमा सामेल गराए यो नेपाली जनताले बुझ्दैछन्, नेपाली जनताले नेपाललाई राख्ने हो भने संघीयता खारेज गर्नुपर्छ ।

संघीयतासँगै गणतन्त्र पनि खारेज गर्ने कि ?
— त्यो त प्रश्नै भएन नि । संघीयताकै कारणले गणतन्त्र, धर्मनिरपेक्षता खारेज हुने खतरा, देशमा फेरि हिन्दूराज्य र हिन्दूराज्य चलाउन राजा चाहिने यसखालका प्रतिगामीहरुको खेल छ त्यसलाई पराजित गरेर देशमा गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता नेपाली जनताको हितमा आएका कुराहरुलाई संरक्षण गर्नु पर्छ नि । त्यसकारणले हाम्रो संघीयता खारेज गर्नुपर्छ भन्ने मात्रै अभियान हो, गणतन्त्र खारेज गर्नुपर्छ भन्ने अहिले हाम्रो अभियान होइन । जुनबेला नेपालमा नयाँ जनवादी क्रान्ति हामीले गर्न सक्छौँ त्यतिबेला यो पूँजीवादी, अल्पसंख्यकको स्वार्थ सिद्धि गर्ने गणतन्त्र अन्त्य हुनसक्छ ।

माओले दिएका विचारहरु नै तपाईंहरुको पनि आधार हुन् त ?
— अर्धऔपनिवेशिक, अर्धसामन्ती मुलुकमा हुने नयाँ जनवादी क्रान्ति नै हो । जसरी चीनमा नयाँ जनवादी क्रान्ति भएको थियो । रुसको र चीनको एउटै अवस्था होइन । रुसमा समाजवादी क्रान्ति हुँदा त्यहाँ पूँजीवादको धेरै विकास भएको थियो । त्यसकारणले चीनकोजस्तो हुबहु नभए पनि किसान प्रधान देश भएको हुनाले र साम्राज्यवादीको हरेक प्रकारको शोषणको अन्त्य गर्ने भनेको नयाँ जनवादी क्रान्ति नै हो । त्यसकारण माओबाट हामीले सिक्ने कुरा भनेको नेपाल जस्तो अर्धसामन्ती, अर्ध औपनिवेशिक मुलुकमा गर्ने भनेको नयाँ जनवादी क्रान्ति नै हो । सांगठनिक कुराहरु, संयुक्त मोर्चाको कुराहरु, अनुशासनको कुराहरु, माओले चिनिया कम्युनिष्ट पार्टीलाई कसरी व्यवस्थित पारेर त्यति ठूलो शक्तिलाई पराजित गर्नु भयो हामीले सिक्ने कुरा चाहिँ त्यही हो ।

यो अलि सैद्धान्तिक कुरा भयो, लेनिनले मजदुरलाई अघि सार्नु भएको थियो, माओले किसानलाई अघि सार्नु भएको थियो तर नेपालमा चाहिँ कस्तो मोडलको नयाँ जनवादी क्रान्ति आवश्यक छ भन्ने ठान्नु हुन्छ ?
— नेपालमा पनि पूँजिवादको विकास त भएको छैन । यहाँ त अहिले पनि दलाल पूँजीवादको बिगबिगी छ । यो अवस्थामा नेपालमा किसान क्रान्ति नै हो, नयाँ जनवादी क्रान्ति नै हो । यहाँ समाजवादी क्रान्ति हुन सक्दैन । नयाँ जनवादी क्रान्ति भनेकै एक प्रकारको पूँजिवादी क्रान्ति हो । त्यो क्रान्ति पूँजिपति वर्गले गर्न सक्दैन । त्यसैले सर्वहारा वर्गको पार्टी, कम्युनिष्ट पार्टीले नै त्यसको नेतृत्व गर्न सक्छ । नेपालको मोडल पनि त्यही हो ।

अन्त्यमा, माओ जयन्तीमा तपाईंको केही सन्देश छ कि ?
— संसारभरमा कम्युनिष्ट आन्दोलन सिद्धियो, यसको भविष्य छैन भनेर कम्युनिष्ट विरोधीहरुले, प्रतिक्रियावादीहरुले, साम्राज्यवादीहरुले जुन फलाको मच्चाइरहेका छन् । जबसम्म यो संसारमा लुटेराहरुको शासन चल्छ, शोषक र शोषितहरुको लडाई चलिरहन्छ, शोषणका सबै प्रकारका रुपको अन्त्य नभइकन कम्युनिष्ट पार्टी र कम्युनिष्ट सिद्धान्तको अन्त्य हुनसक्दैन । त्यसकारणले कम्युनिष्ट पार्टी र सिद्धान्तको त्यतिबेला आवश्यक हुन्न जतिबेला यो पृथ्वीमा शोषण प्रदान समाजको अन्त्य हुन्न । त्यो समाज अन्त्य भइसकेपछि चाहिँ कम्युनिष्ट पार्टीको पनि आवश्यकता रहन्न ।