आइजिपी खनालले भने, ‘म गाडीको सौखिन होइन’

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १० पुस, विभिन्न पत्रपत्रिकामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुलेटप्रुफ गाडी किनेको खबर आएपछि पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले आवश्यकताअनुसार नै गाडी खरिद गरेको र आफू गाडीको सौखिन नभएको स्पष्ट पारेका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले नयाँ गाडी आफ्नो सोख नभई आवश्यकता भएको प्रष्ट पारे ।

उनले भने, ‘बुलेटप्रुफ गाडीको कुरा आज मिडियामा आएको छ । १२ वर्ष पुरानो गाडी रहेछ । एक ठाउँमा ठोक्किएर आएपछि प्रदेश ५ को एउटा गाडी झिकाएर चढ्दै आएको थिएँ । कतै जाँदा पाँच–सातजना स्टाफसहित जनुपर्ने हुन्छ । त्यसका लागि हामीले गाडी किनेका हौँ ।’ त्यो आफ्ना लागि नभई संगठनका लागि भएको पनि उनले बताए । उनले भने, ‘अर्को वर्ष अर्को व्यक्तिले चढ्ने हो । आवश्यकताको आधारमा गृहमन्त्रालयबाट समेत स्वीकृत भएर खरिद गरिएको हो । म गाडीमा सोख गर्ने व्यक्ति होइन । संगठनलाई चाहिन्छ भनेर किनिएको हो ।’

समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि महानिरीक्षककै सचिवालयबाट सञ्चालन भएकोले त्यहाँ रहेका प्रहरीहरुले पनि गाडी प्रयोग गर्ने हुँदा धेरै गाडी किनिएकोजस्तो लागेको हुनसक्ने उनले बताए ।

Loading...