तिमी भयौ बुढी पिपल म त बुढो वर… (फोटोफिचर)

फोटो फिचर मुख्य समाचार विषेश समाचार

उर्लाबारी, ९ पुस, ‘तिमी भयौ बुढी पिपल म त बुढो वर, जिन्दगीको चौतारीमा एक अर्काको भर’ गायक शिशिर योगीको गीतले भने जस्तै मोरङको उर्लाबारी नगरपालिका ७ का एक जोडीको अवस्था यस्तै छ । २ छोरा र एक छोरीका धनी ८९ वर्षका कमल श्रेष्ठ यतिखेर श्रीमतीको साहरामा दिन काट्दै आएका छन् । श्रीमती (साईली) जन्मजात बोल्न नसक्ने छिन्, श्रीमान कमलको दुबै हात खुट्टा चल्दैन । श्रीमतीले दिनभरि मागेर ल्याएर श्रीमानलाई खुवाउने गरेकी छिन् । श्रीमतीको सहारामा बाच्नु परे पनि उनीहरुको माया, प्रेम भने निकै गाढा छ । उनीहरुकोमा पुग्ने जो कोहीको पनि त्यो अवस्था देख्दा आँखा रसाउँछन् ।

अर्काको खाली जग्गामा बस्दै आएका वृद्ध दाम्पतीलाई नजिकै रहेको अनाथ आश्रमले सहयोग गर्दै आएको कमल बताउँछन् । आश्रमबाट आएको, छिमेकीले दिएको र श्रीमतीले मागेर ल्याएकोले जेनतेन उनीहरूको गुजारा चलिरहेको छ ।

पहाडमा १४ वर्षको उमेरमा बाख्रालाई घाँस झार्न रुखमा चढ्दा लडेर शरीरको एक पाटो चल्न छोडेको हो । २५ वर्ष अघिदेखि दुबै हात, खुट्टा चल्न छोडेपछि उनले बाहिरी संसार देख्न पाएका छैनन् ।

कमलका २ श्रीमती थिए । ३ सन्तान जन्मिएपछि पहिलो श्रीमतीको मृत्यू भएपछि मधेश झरेर कान्छी विवाह गरेको उनी बताउँछन् । हाल कान्छी श्रीमतीसँग बस्दै आएका कमलको यतापट्टी भने छोराछोरी छैनन् । बेसहारा वृद्ध दम्पतीका सन्तान नभए पनि उनीहरुमा माया र प्रेम भने अथाह छ । मिठो मसिनो खान लाउन नपाए पनि सँगै मर्न पाए हुन्थ्यो भन्ने कमलको अन्तिम इच्छा छ ।

प्रस्तुति: गोपाल काफ्ले