दुई वर्ष दाम्लोमा अहिले खोरमा !

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

केशवराज भण्डारी, झापा, ८ पुस, पाँचथरको हिलिहाङ–६ अर्खौलेका सुसन योङहाङ अहिले ८ वर्ष पुगे । चारवर्षको उमेरमा सामान्य लडेर बिरामी परेका उनी अहिलेसम्म पूर्ण होसमा आइसकेका छैनन् । यो चार वर्षको अवधि उनले कहिले दाम्लोमा बाँधिएर त कहिले खोरमा थुनिएर बिताएका छन् ।

आमा जुनिसा थोक्लिहाङ सुसन जन्मिएको एक वर्षपछि विदेशिएकी थिइन् । आमा विदेश गएपछि मावली घरमै बस्दै आएका सुसनको पछिल्लो दिनचर्या झनै दर्दनाक बन्दै गएको छ । घरमा सुसनका हजुरबुवा, हजुरआमा, मामा र सानीमा छन् । उनीसँग पाँच जनाको परिवार रहेको घरमा सबै काममा निस्कनु पर्ने बाध्यता छ । ‘काममा जाँदा घरमा एक्लै छोड्न नमिल्ने भएर करिब २ वर्ष त बाँधेरै राख्यौँ ।’ सुसनकी सानिमा पर्ने मनिसा थोक्लिहाङले भनिन् – ‘अहिले बाँधेको चाहीँ छैन तर घर नजिकको किचन मुनिको खुल्ला कोठालाई बारेर खोर जस्तो बनाएर त्यहीँ राख्ने गरेका छौ ।’ बोल्न र राम्ररी आँखा देख्न समेत नसक्ने सुसन सामान्य हिँडडुल गर्न भने सक्छन् । घरबाट कतिखेर हिँडेर कहाँ पुग्छ, अनि लड्छ भनेर कोठामै राख्ने गरेको उनले बताइन् । सुसन नयाँ कुनै कुरालाई प्रतिक्रिया दिन नै सक्दैनन् ।

सञ्चारकर्मी सरोज शर्माका अनुसार बालकको अवस्था यस्तो छ
मंगलबार दिउँसो १ बजे पत्रकारको टोली उनको घरमा पुग्दा उनलाई मुल घरभित्र अँध्यारो कोठामा राखिएको थियो । सधैँ उनलाई राखिने ठाउँ भन्दा अन्तै सारिएको अवस्थामा उनलाई भेटिएको हो । घरका सबै मानिस कामका लागि निस्किएकाले छिमेकीको सहयोगमा टोलीले उनको परिवारका सदस्यलाई बोलाएर सबै विवरण लिइएको हो ।

पत्रकारसँग बोल्दै बालककी सानिमा मनिसा थोक्लिहाङले भनिन् — ”उसले आफैँ खाना खान सक्दैन । अरुले खुवाइदिँदा चाहीँ खान्छ । दिसापिसाब गएको उसलाई थाहा हुँदैन । सामान्य हिडेको जस्तो गर्छ तर लडिहाल्छ । उसको जिउको भर नभएर लडे जस्तो गर्छ । उसलाई बेला बेला छोपुवा जस्तो अवस्थामा देखिन्छ । छेउछाउमा भएका सामान समात्यो भने खुस्काउन समस्या हुने गरी समात्छ । हिँडिरहने भएकाले उसलाई सुरक्षित राख्न उ बसेको वरपर बार लगाइएको छ । कोही नहुँदा दिसापिसाब गरो भने खेलाउने, खाने पनि गर्छ । तर प्रायः हामी उसलाई छोड्दैनौ ।”

सुसन प्रायः उनी भुइमा लडिरहन्छन् । लामो समयसम्म चिसो भुइमा रहने कारण उनका खुट्टा, हात निलो भइसकेका छन् । खुट्टा लुला छन् । तौल पनि औषत बच्चाको जति छैन ।
उपचारका लागि पहिला फिदिम लगिएको थियो । पछि झापा हुँदै सिलगडीसम्म उपचारका लागि लगिएको थियो तर प्रभावकारी उपचार नभएको परिवारको भनाई छ । फेरी उपचार गराउनलाई परिवारसँग पैसा नभएपछि उनलाई त्यसरी राखिएको छ । उनी बिरामी हुनु अघि बालशिक्षा जान्थे । तेज दिमाग भएको बालक भनेर सबैले उनको प्रसंशा गर्थे । पछि छिमेकीको विवाह कार्यक्रमका बेला सामान्य लडेका सुसन फेरी सोही अवस्थामा फर्किन सकेनन् ।

छिमेकीहरु भन्छन् दिनदिनै उनको अवस्था बिग्रदै गएको छ । पहिला उतिसारो कमजोर थिएन । एकैै ठाउँमा धेरै लामो समयसम्म राखिएपछि झनै समस्या आउन थालेको उनीहरुको भनाई छ ।

वडाले सहयोग गर्ने
सुसनको अवस्था सुधार्न केही प्रयास गरिए पनि सम्भव नभएको फालेलुङ गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष कृष्णबहादुर यवाले जानकारी दिए । यस अघि फिदिम जोरसालमा रहेको सुस्त मनस्थितिका बालबालिका रहेको स्कुलमा पुर्याइएको हो तर विद्यालयले लिन नमानेपछि फर्काइएको थियो । सामान्य अवस्था भन्दा जटिल अवस्था रहेका कारण विद्यालयले लिन नमानेको वडाध्यक्ष यवाको भनाई छ । उनले भने — ‘अरु के गर्न सकिन्छ हाम्रो तर्फबाट सबैखाले सहयोग गर्न हामी तयार छौँ ।’