उद्यौली मनाइयो (फोटोफिचर)

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ७ पुस, बीचमा सेउली अथवा लिङ्गो ढड्याइएको, ढोल, झ्याम्टा, चम्मर राखिएका छन् । कुबीले (राईको धामी वा पुरोहित, फरक–फरक जातिअनुसार फरक फरक नाम लिन्छन्) सगुन छर्किँदै लिङ्गो र सरसामानको पूजा गर्दै सुब्बे फाब्बे होेस्, अनिकाल नलागोस्, सहकाल आओस्, अन्न धेरै फालोस् भन्दै भूमिको, तीन चुलाको (तीन चुला पुज्ने राईको परम्परा हो) पूजा गर्छन् । ढोलके र झ्याम्टेहरु साधन टिपेर ढम–ढम–ढम बजाउन थाल्छन् ।

सोइ ढोले सोइ, अर्को ढोले खोई, उलुलुलुलु…. गीत र ढोलको तालसँगै खुट्टाको र हातको चाल चल्छन् । के वृद्ध–वृद्धा, के युवा–युवती, के बाल–बालिका सबै ढोलको लयमा कम्मर मर्काइ-मर्काइ, खुट्टा लर्काइ-लकाई नाच्न थाल्छन् । लिङ्गोलाई परिक्रमा गर्दै अगाडि–पछाडि गर्दै नाचिरहन्छन् ।

शनिबार काठमाडौँको गोकर्णस्थित शहिदपार्कमा किरातीहरुले धुमधामसँग उद्यौली पर्व मनाएका छन् । आ–आफ्नो परम्परागत पहिरनमा सजिएका सहभागीहरुले नाच्ने, गाउँनेसहित खानपान र घुमघाम गरेर पर्व मनाएका छन् ।

भूमि र प्रकृतिका पूजक किरातहरुका विभिन्न जात, जातिहरु सो समारोहमा सहभागी थिए । क्षेत्र एकै भए पनि सुनुवार राई, चाम्लिङ राई, याख्खा राई, साम्पाङ राईलगायतका जाति वा पाछाहरुले छुट्टा–छुट्टै साकेला थान बनाएर नाच्ने गरेका छन् । पुस्तक विमोचन गर्नेलगायतका कार्यक्रमहरु पनि सोही समारोहमा सम्पन्न गर्छन् ।

यसअघि ललितपुरको हात्तिवनमा मात्रै मनाइदै आएको उद्यौली पर्व केही वर्ष अघिदेखि गोकर्ण क्षेत्रमा पनि मनाउन थालिएको छ । गोकर्ण दरबार किरातहरुको दरबार भएको र यो क्षेत्र किरातीहरुको राज्य भएको परम्परा खोज्दै किरातहरुले सो क्षेत्रमा पनि साकेला नाच्न थालेका हुन् ।



शब्द/तस्विर: डिल्ली रमण सुवेदी