देशलाई समृद्ध बनाउन अभियान नै चलाउन जरुरी: प्रचण्ड

मुख्य समाचार राजनीति

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन सामान्य भन्दा अभियानात्मक रुपले अघि बढ्नु पर्ने बताएका छन् । चितवन पारस नगरमा श्री सहिद स्मृति माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘अहिले बसिरहेको हाम्रो पार्टीको स्थायी समिति बैठकमा दुई महिना तुरुन्तै अभियान चलाउने र देशभरी जनतालाई र पार्टीका नेता तथा कार्यकर्तालाई साथै अन्य राजनीतिक दलहरुलाई पनि समृद्धिको यात्रामा सँगसँगै सहभागी गराउने तिर योजना बनाउँदै छौं ।’ उनले केही समयदेखि सामुदायिक विद्यालय खस्किँदै जाने, निजी र व्यापारिक विद्यालयहरु फस्टाउँदै जाने रोग लागेकोमा दुईचार वर्ष यता फेरि सामुदायिक विद्यालय पनि प्रतिष्पर्धामा आफूलाई खरो उर्ताने प्रक्रियामा आएको बताए ।

प्रचण्डले भने, ‘अहिले हाम्रो पार्टी र सरकारले निर्वाचनको बेला घोषणा पत्रमा भने बमोजिम सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने कुरा र विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षा नहोस् भनेर प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै जाने प्रक्रियामा रहेका छौं ।’