मिथिला प्रदेशका अभियन्ता : जीतबहादुर रायमाझी ‘मैथिल’

मुख्य समाचार विचार

— डिल्ली रमण सुवेदी
अहिले नेपालमा तराईको विषयलाई लिएर धेरै आन्दोलनहरु भए, मधेश र मधेशी भनेर । त्यो मधेश आन्दोलन अधिकारको लागि त जसले पनि स्वीकार गर्ने कुरा हो तर मधेश भन्दा पनि मधेशी भन्ने शब्दावलीले पहिचानको कुरालाई लिएर कसैलाई मधेशी, कसैलाई गैरमधेशीमा विभाजन गर्यो । त्यो राजनीतिक स्वार्थको रुपमा आएको धेरैको मान्यता छ । वास्तवमा मधेश के हो र मधेशी के हो ? यो विषय खोज्नु आवश्यक छ । मधेश र मधेशीको पहिचानको कुरा कहाँबाट आयो ? प्राचीन इतिहास बोकेको मिथिला र मैथिली भाषा कहाँ हरायो ? त्यो खोजीमा लागेका छन् सिरहाका जीतबहादुर रायमाझी ‘मैथिल’ (७५) ।

यही विषयमा आधारित भएर उनले तीन वटा लेख पनि प्रकाशित गरिसकेका छन् । २०७२ को चैत ३ गते बुधबारको जनआस्थामा ‘कसैले कहिल्यै नबिर्सिउन यी कुरा’ भन्ने शीर्षकमा एउटा लेख छापिएको छ । २०७३ वैशाख २९ गतेको सोही पत्रिकामा ‘मधेश कहाँ छ देखाउनुहोस् महोदय ?’ शीर्षकमा अर्को लेख छापिएको छ र सोही पत्रिकामा २०७३ जेठ ५ को अंकमा ‘आफ्नालाई नदिने, छिमेकीलाई तर्साउने’ शीर्षकमा तेस्रो लेख छापिएको छ । यो लेख उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमै लगेर दिए पनि । त्यसको साथमा अन्य मिथिला र मैथिलीसम्बन्धी सामग्रीहरु पनि प्रदान गरे । ‘संक्षिप्तमा जानकारी पनि गराएको थिएँ’ उनी भन्छन्, ‘एउटा अन्तरक्रिया राख्नुहोस्, विशेष छलफल गरौँ भन्ने प्रस्ताव गरेको थिएँ ।’ यो विषयमा पूर्वसभामुख सुभासचन्द्र नेम्बाङसँग पनि प्रस्ताव राखेका थिए तर फिस्स हाँसेर टारिदिए । त्यसबेला केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर पार्टीसचिवलाई पनि ती सामग्री दिए, त्यसैबेला सिरहाका माओवादी सांसद विश्वनाथ साह पनि आएका थिए उनले पनि हेरे र गए कुनै प्रतिक्रिया दिएनन् । त्यस विषयमा पार्टी कार्यालयमा पछि छलफल भयो वा भएन उनलाई थाहा छैन ।

नेपाली कांग्रेस र माओवादीको सरकार भएको बेला तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाको बस्तिपुर आएका थिए । त्यहाँ ४ सहिदको शालिक अनावरण गर्ने कार्यक्रम थियो । त्यहाँ भेट्ने समय माग्दा उनले पाएनन् । कार्यक्रम स्थलको नजिकै गएर बसे प्रचण्डको भाषण नसकिउन्जेल । ‘उहाँको सम्बोधन सकिने बित्तिकै नजिकै गएर खुसुक्क हातमा थमाई दिएँ, उहाँले लिनु भयो । त्यहाँ स्थानीय नेता तथा तत्कालिन कानुन मन्त्री अजयशंकर नायक र विश्वनाथ साह तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि हुनुहुन्थ्यो ।’ प्रचण्डले उनले दिएको सामग्री हेरे वा रद्धिको टोकरीमा मिल्काइ दिए उनलाई थाहा छैन ।

चुनावको बेला सिरहाका राजपाका नेता राजकिशोर यादव भोट माग्दै उनको घरमै आए । घरमा आएका पाहुना नेतालाई उनले सीधै प्रश्न राखे । ”तपाईहरु कुन किसिमको राजनीति गर्दै हुनुहुन्छ ? तपाईंहरुको जात के हो ? यो देशमा गोपाल र महिशपालहरुले राज्य गरेका थिए तपाई यी वंशमा पर्नु हुन्छ कि हुन्न ? उनीहरुलाई काठमाडौँसम्म पुगेर राज्य गर्ने क्षमता भयो तपाईंहरुसँग त्यो क्षमता छ कि छैन ? तराईंको यति भूभाग लिएर तपाईंहरुले कसरी राज्य गर्नु हुन्छ ? यहाँ के–के सम्पदा छ थाहा छ ? जति पहाड छ सम्पदा जति उतै छ अनि तपाईंहरु सिंगो मधेश पाए पनि के गर्नु हुन्छ ? तपाईंहरु कस्तो किसिमको राजनीति गर्दै हुनुहुन्छ ? बुझेर कि नबुझेर ? यहाँ धेरै जातजातिको बसोबास छ । यहाँ बस्ने तपाईंहरु चाहि मधेशी अनि अरु चाहिँ पहाडी वा गैरमधेशी ? उनले दर्जनभन्दा बढी प्रश्न एकैपटक तेस्र्याए । उनले प्रश्न मात्रै तस्र्याएनन् केही सुझाव पनि दिए । यो मिथिला प्रदेश भएकोले यहाँको वैदिककालीन इतिहास, सांस्कृतिक महत्व र धार्मिक आस्था नबिर्सिन आग्रह पनि गरे । मिथिला प्रदेश र अवध प्रदेशको भूगोल पहिचान गरेर संघीय प्रदेश निर्माण गर्ने अभियानमा लाग्नुहोस् म पनि तपाईंलाई सहयोग गर्छु, भोट माग्दै हिड्छुसम्म भन्न भ्याए । यादवले गम्भीर कुरा गर्नु भयो । म यो विषयमा अन्तरक्रिया राख्छु, तपाईंलाई पनि भोलिबाट निर्वाचनमासँगै हिडाउँछु, भोलि नै लिन गाडी पठाइदिन्छु भनेका थिए । तर भोलिपल्ट न गाडी आयो, न सम्पर्क नै भयो, न त अन्तरक्रिया भयो ।

सोही संघीय संसदको निर्वाचनको बेला जनकपुरमा अन्तर्राष्ट्रिय मैथिल सम्मेलन भएको थियो । जसमा उनले मिथिला र मैथिलीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यो सम्मेलनको मुख्य उद्देश्य पनि मिथिला राज्य र मैथिली भाषाको स्थापनाकै विषयमा केन्द्रीत थियो । त्यसको एक महिनापछि पुनः अर्को मैथिली संस्थाको सम्मेलन भएको थियो । जसको उद्देश्य पनि मिथिला र मैथिली भाषा स्थापित हुनु पर्छ भन्ने थियो ।

सन् १९०२ मा तत्कालिन ब्रिटिस सरकारको तर्फबाट भारतीय भाषा सर्वेक्षण भएको थियो । जसको नेतृत्व डा. जर्ज गियर्सनले गरेका थिए । उनले बिहारको एउटा नक्सा नै बनाएका थिए जसमा मिथिलालाई विभाजित गरिदिए । त्यहाँ स्पष्टसँग मिथिलालाई दुई भागमा विभाजित गरिएको छ । त्यसकै विरोधमा सन् १९९३ मा मैथिली परिषद् भारतमा स्थापित भएको हो । त्यसपछि परिषद्ले नेपाल र भारतमा विभिन्न सम्मेलनहरु गरिरहेको छ । १९९६ मा आएर परिषदले बिहारबाट मिथिला प्रदेश अलग हुनु पर्छ र मिथिला प्रदेश कायम हुनुपर्छ भनेर घोषणापत्र नै पारित गर्यो । परिषद्का सदस्यहरु दिल्लीमा गएर धर्ना दिइरहेका छन् जुन २२ वर्षदेखि जारी छ । तर भारत सरकारले उनीहरुको आवाज सुनिरहेको छैन ।

नेपालबाट १८१६ को सुगौली सन्धीमा अवध र मिथिला खण्डित भएर भारतमा गयो । त्यो सन्धीबाट मिथिला र अवध टुक्रियो । अवधको राजधानी भारतमा पर्यो, मिथिलाको राजधानी नेपालमा पर्यो । भोजपुरा पुरै गयो भारतमा, लुम्बिनी रह्यो पुरै नेपालमा । भोजपुराको भूगोल नेपालमा छैन । मिथिलाको खण्डित भएर गयो, अवधको पनि खण्डित भएर गयो । एक पटक त सुगौली सन्धीले मिथिला र अवधलाई विखण्डन गर्यो । मिथिलालाई दोस्रो पटक अंग्रेजले विखण्डन गरिदिए । त्यो विखण्डन भनेको सितामणि मुजफ्फरपुर र हाजिपुरदेखि पश्चिमसम्म । गंगा र घाँघरादेखि उत्तरको भूभाग र अहिलेको नेपाल–भारतको सीमाबाट दक्षिण र भोजपुरादेखि पूर्वको बीचको भूभाग । जुन प्राचीन र मध्यकालिन मिथिला नै हो । त्यो भूभागलाई डा. जर्ज गियर्सनले नै ‘हिन्दी मधेशीया’ बनाइदिएका हुन् ।

भारतमा उत्तरप्रदेश अन्तर्गत अवध पर्दछ । उत्तरप्रदेश र बिहारअन्तर्गत दुई भागमा भोजपुरा पर्दछ । भोजपुरी भाषा बिहारदेखि लिएर उत्तरप्रदेशसम्म छ । त्यही उत्तरप्रदेशमा भोजपुरी भाषी र अवधि भाषीबाहेक अन्य ६ सहित जम्मा ८ मातृभाषी छन् । उत्तरप्रदेशको नक्सामा मधेश भन्ने शब्द छैन । बिहारमा ‘हिन्दी मधेशीया’ भन्ने एउटा ठाउँ छ । त्यो मोतियारी र सारङमा पर्दछ । त्यो पहिलेको मिथिलाको भूभाग नै हो । किनभने विष्ण्ॉ पुराणमा प्राचीन मिथिलाको जुन भूगोल उल्लेख छ । त्यही भूगोल पछि गएर ११औँ, १२औँ शताब्दीमा स्थापित कर्णाट काल (अन्त्य चौधौँ शताब्दी, १३२४ इश्वी) र १६औँ शताब्दीमा पनि जतिबेला महेश ठाकुर मिथिलाको राजा थिए । (त्यतिबेला मिथिला पनि अकबर वादशाहको अधिनमा थियो ।) अकबरले महेश ठाकुरलाई यो राज्य तिमीले चलाउ भनेर दानपत्र दिएको कुरा विष्ण्ॉ पुराणमा उल्लेख छ । जसमा उत्तर–दक्षिण हिमालयदेखि गंगासम्म, पूर्व–पश्चिम सप्तकोशीदेखि नारायणीसम्मको क्षेत्र मिथिला भनेर उल्लेख छ । इतिहासकार ज्ञानमणि नेपालले पनि आफ्नो लेखमा उत्तरमा दोलखा हिमालदेखि लिएर उदयपुर, रामेछाप, सिन्धुली लगायतका जिल्ला मिथिलाका हुन् र त्यो गंगासम्म पुग्दछ भनेर उल्लेख गरेका छन् ।
कर्णाट राजाले शासन गर्ने राजधानी दुईवटा थिए । एउटा सिम्रौनगढ (जुन अहिले भग्नावशेषको रुपमा रहेको छ । इश्वीको १३२४ मा दिल्लीका गयासुद्दिन तुग्लकले आक्रमण गरेर ध्वस्त पारे ।) अर्को सिन्धुली गढी जुन मौसमी राजधानीको रुपमा रहेको थियो जहाँ गर्मीमा गएर राजाहरु विश्राम गर्थे । तुग्लकले आक्रमण गरेर सिम्रौनगढ ध्वस्त पारिदिएपछि सातौ पुस्ताका अन्तिम राजा हरिसिंहदेव, उनकी रानी, उनका मन्त्री, उनका दुई छोरा र केही भारदारसमेत भाग्न सफल भएर सिन्धुली गढीको त्यही ठाउँमा आएर बसेका थिए । उनको मृत्यु त्यहीँ भयो । उनका मन्त्री चन्द्रेश्वर ठाकुरलाई दोलखामा प्रशासनिक इकाई स्थापना गर्न पठाएका थिए । जुन कुरा ज्ञानमणि नेपालको पुस्तकमा पनि प्रमाणको रुपमा उल्लेख छ ।

इसापूर्व छैठौँ शताब्दीमा मिथिलाको पतन भयो । इसाको ११औँ शताब्दीसम्म मिथिला गुमनाम भयो । जुन १७ सय वर्षको इतिहास छ । यो समयमा मिथिला अनेक राजाको अधिनमा गयो । त्यतिबेला मिथिला भन्ने शब्दै हरायो । इशाको दोस्रोदेखि पाँचौँ शताब्दीको गुप्तकालमा यो मिथिलाको नाम त्रिकोणात्मक भूगोलको आधारमा ‘तीरहुत’ नामाकरण गरिदिए । आज त्यही तीरहुतको भूभागभरि वर्षेनी ‘मध्यमा परिक्रमा’ गरिन्छ । त्यो गुप्तकालिन मिथिलाको भूगोलभित्र मात्र पर्दछ । तर वृहत्तर मिथिलाको परिक्रमा चाहिँ जुन प्राचीन परम्परा हो त्यो कोही कोही साधु, सन्त, त्यागीहरुले मात्रै चिनेर, बुझेर गर्ने गरेको पाइन्छ । मिथिलामा तीनवटा परिक्रमा छ, वृहत्तर परिक्रमा, मध्यमा परिक्रमा र अन्तरिक परिक्रमा । मिथिलापुरी भनेर जनकपुरलाई भन्छन् त्यो राजधानीको सेरोफेरो मात्रै पर्दछ । पुरै मिथिलाको परिक्रमा जो कोहीले गर्नै सक्दैनन् । त्यो पुरै मिथिला भनेको हिमालसम्म पुग्दछ । साधु, सन्त, त्यागीहरुले परिक्रमा गरे पनि उनीहरुले सार्वजनिक गर्दैनन् त्यसैले कति मिथिलाको भूभाग हो भन्ने अहिले कसैलाई पनि थाहा छैन ।

नेपालको प्रथम राष्ट्रभाषा संस्कृतपछि मैथिली थियो । नेपालमा मैथिली भाषा दोस्रो मल्लकालीन राजा जयस्थिति मल्ल राजा हुनभन्दा अगाडिदेखि नै प्रचलनमा थियो भन्ने प्रमाण छन् । अन्तिम कर्णाट राजा हरिसिंहदेवकी श्रीमती देवलदेवी भक्तपुर मल्ल दरबारकी चेली थिइन् । राजा हरिसिंहदेव सिन्धुलीमा मरेपछि उनी आफ्ना दुई छोरा लिएर भक्तपुर दरबारमा पुनः प्रवेश गरिन् । त्यतिखेर पुरानो मल्ल (ठकुरी) वंश थिए । त्यसको अन्तिम मल्ल राजा जयरुद्र मल्ल (इश्वी ३२४) थिए । ती रानीकै पालामा तलेजु मन्दिर बनेको र मन्दिर बनेको २ महिनापछि राजा जयरुद्र मरे । उनी मरेपछि रानीले नै राज्य सम्हालिन । रानीले आफ्ना छोरालाई नै सक्षम बनाएर राजगद्दी सुम्पिइन् । उनकी नातिनीको विवाह जयस्थिति मल्लसँग गराएर उनलाई राजगद्दी सुम्पिइन् अनि मल्लहरुको दोस्रो वंशिय राजसंस्था सुरु भयो ।

जब यी रानी भक्तपुर दरबारमा पुगिन् त्यतिबेलादेखि नै मैथिली विद्वानहरु खचाखच भरिन थाले, आउन थाले, आश्रय पाउन थाले । उता मिथिलामा मुस्लिम आक्रमण हुन थालेपछि विद्वानहरु भक्तपुर दरबारमा शरण लिन आएका थिए । आफ्नो धर्म, संस्कृति बचाउन, ज्यान जोगाउन आएका थिए । त्यसपछि मल्लहरुले मैथिली भाषालाई नै राष्ट्रिय भाषा बनाए र अभिलेख भाषा पनि बनाए । यी मल्लहरु सबै मैथिली भाषी थिए । उनीहरुले रचना गरेका मैथिली भाषाका रचनाहरु अहिले पनि राष्ट्रिय संग्रहालयमा संरक्षित छन् ।

नेपालको राष्ट्रिय झण्डा पनि शाहकालीन होइन् यो वैदिककालीन हो । मैथिलीहरु वैदिककालीन धर्म मान्दथे र सूर्य र चन्द्रमाको पूजा गर्दथे । यो नेपालको झण्डाले धार्मिक, सांस्कृतिक विविधताको पहिचान बोकेको छ । यो अनेकतामा एकताको देश हो । पृथ्वीनारायण शाहको पाला भन्दा अघि देश विखण्डीत थियो । एकीकरण हुँदै विखण्डित हुँदै गरिरहेको थियो । त्यसको मुख्य कारण राजनीतिक स्वार्थ हो भन्ने पृथ्वीनारायले बुझेका थिए । उनले अब विखण्डन नहोस् भन्ने सोचे तर फेरि पनि त्यस्तो हुनसक्छ भन्ने उनको मान्यता थियो । राजनीतिक व्यवस्थाबाट राष्ट्र चल्छ तर राष्ट्रलाई एकताबद्ध राख्न सांस्कृतिक एकता नै मुख्य हुन्छ । राष्ट्रिय एकताको मुख्य आधार भनेको सांस्कृतिक एकता हो । यो झण्डामा यही सांस्कृतिक एकताको प्रतीक चन्द्र र सूर्य छन् । यो सबै नेपालीले मान्छन् जसमा शान्ति र क्रान्तिको प्रतीक छ । झण्डाको रातो रङ्ग क्रान्ति र रक्षाको प्रतीक हो र निलो रङ्ग शान्ति र सुरक्षाको प्रतीक पनि हो । त्यसमा भएको त्रिकोण तान्त्रिक देश भएकोले त्यसको प्रतीक हो । नेपालमा शैव, शाक्त र वैष्णवतन्त्र प्रचलित छन् । शैव धर्म नेपालको सबैभन्दा प्राचीन धर्म हो । जसले शिवलाई मान्दछ । शिवको आँखामा नै चन्द्र र सूर्य अंकित छ । यसरी हेर्दा नेपाल तान्त्रिक देश देखिन्छ । यसैगरी मिथिला पनि तन्त्रमा आधारित राज्य थियो ।

अहिले भारतीय विद्वानहरुले हरेक शास्त्रका हरेक कुरालाई भारतीयकरण गरेर नेपालको नाम गुम पारिदिएको उनी ठान्छन् । ‘अहिले नेपाललाई उत्तर भारत बनाइदिएका छन् । भारतीय उपमहाद्वीप भित्र राखिदिएका छन्’ उनी भन्छन् । उनले यो विषयमा यावत कुरा उठाइरहे पनि उनको आवाज अहिले कसैले सुनेका छैनन्, उनी बोल्न पनि छोडेका छैनन् । यो कुरा उनले पटकपटक भनिरहेका छन् । अन्तरक्रियामा बोलीरहेका छन् ।

यो सबै मिथिलाको इतिहास हुँदा हुँदै मधेश र मधेशीको अर्को पहिचान छैन भन्ने उनको धारणा छ । अहिलेका मधेशवादीहरु भनेको मधेशी होइनन् भन्ने उनको मान्यता छ । केहीले छुट्टै मधेश राज्यको अभियान लिएर हिडेको उनलाई पटक्कै मन परेको छैन । मधेश भनेको के हो ? र मधेशी को हुन् ? यसको उत्तर उनीहरुले दिन सक्छन् भन्ने उनलाई लाग्दैन । उनीहरु अनावश्यक कुरा बोकेर हिडिरहेको उनको दाबी छ । उनी भन्छन्, ”मधेशी र मधेश भन्ने शब्द आयातित र अपभ्रंश शब्द मात्रै हो । यहाँ मधेश र मधेशी भन्नाले केबल मैथिली, भोजपुरी, अवधि र थारुलाई समेट्न खोजिएको छ । थारु यहाँको आदिबासी हो । उनीहरु साविक किरातको अनुवंश हो, समयको परिवर्तनले गर्दा उनीहरु समयअनुसार बदलिए । वास्तवमा उनीहरु किरात हुन् । नेपाल नामाकरण हुनुभन्दा पहिले यहाँ किरातको शासन थियो । उनीहरुको पहिचान छुट्टै छ ।”

अहिलेका मधेशवादीहरुले नेपालको तराईलाई पनि ‘हिन्दी मधेशीया’ बनाउन खोजेका हुन् भन्ने उनको ठम्याई छ । अन्तर्राष्ट्रिय मैथिली परिषद्ले पनि यो कुरा स्वीकार नगर्ने उनी बताउँछन् । भारतमा मिथिलाको औचित्य हुँदा नेपालमा मिथिलाको औचित्य किन नहुने ? उनी प्रश्न गर्छन् । बिहारबाट मिथिला अलग हुने विषय त्यहाँ मैथिली भाषामाथि प्रतिबन्ध लागेपछि उठेको देखिन्छ । अंग्रेजको समयमा सन् १९०२ मा मैथिली भाषाप्रति पहिलो पटक प्रतिबन्ध लागेको थियो । त्यतिबेलै पनि कवि तथा पत्रकार कविश्वर चन्दा झाको नेतृत्वमा आन्दोलन चर्किएको थियो । यता सन् १९९१ मा लालुप्रसाद यादव बिहारका मुख्यमन्त्री भएर आएपछि उनले पनि मैथिली भाषामाथि प्रतिबन्ध लगाए । सरकारी भाषाबाट हटाइ दिए । त्यसपछि बिहारमा आन्दोलन सुरु भएको हो । यस्तो आन्दोलन नेपालमा पनि सुरु हुनसक्ने उनी दाबी गर्छन् ।

‘मिथिला राज्यका अनेक प्रमाण र सांस्कृतिक महत्व हुँदा हुँदै केबल मधेश, केबल मधेश, केबल मधेश भन्दै हिड्नुको तत्पर्य छैन’ उनी भन्छन् । अहिले उठिरहेको आधारमा संविधान संशोधन गर्ने होइन, संघीयता मिथिलाको साविक इतिहास र भूगोललाई लिएर गर्नु पर्छ भन्ने उनको धारणा छ । ‘प्राचीन मिथिला र अवधको भूभाग जोडेर दुई नम्बर प्रदेशको नयाँ सिमाङ्कन गर्नुपर्छ’ उनी भन्छन् । यो कुरा न मधेशी नेताहरुले उठाउन सकेका छन्, न त पहाडी भनिएका नेतासमक्ष पुगेको छ, न त देशका प्रधानमन्त्रीसमक्ष नै । सुनेकाले पनि एक कानले सुनेर अर्को कानले उठाउने गरेका छन् । यो विषयमा सरकारले ब्यापक छलफल र अन्तरक्रिया गर्नु जरुरी भएको उनी बताउँछन् ।

जनक राजाहरुको पालामा मिथिलामा ठूलाठूला शास्त्रार्थ हुन्थे त्यसबाट निकालिएको निष्कर्षबाट विभिन्न ग्रन्थहरु रचना भए । तिनै आधारबाट हिन्दू धर्मको स्थापना भयो । बास्तवमा हिन्दू धर्मको स्थापना मिथिलाबाटै भएको हो । मिथिला र नेपालको एकात्मक सम्बन्ध छ । भारतसँग मिथिलाको एकात्मक सम्बन्ध छैन । सुगौली सन्धीले अन्तरसम्बन्ध बनाएको मात्रै हो । नेपाल र भारतको सम्बन्ध केही कुटनीतिक व्यक्तिहरु रोटी–बेटीको सम्बन्ध छ भन्दै हिड्छन् त्यसमा तुक नभएको उनको दाबी छ । मिथिलाको आफ्नै ऐतिहासिक भाषा छ, संस्कृति छ, साहित्य छ, ब्याकरण छ, दर्शन छ त्यसलाई कायम गर्नुपर्ने उनको सुझाव छ ।

”यो अवध र मिथिला जोडेर छुट्टै भूगोल कायम हुनु पर्छ अनि संघीयताले वास्तविक आधारमा नेपालको राष्ट्रिय एकता सुदृढ गर्नसक्छ । जातीयताको आधारमा, जातजातिलाई फुटाएर, संस्कृति खण्डित गरेर संघीयता बन्दैन र राष्ट्रिय एकता हुन सक्दैन” भन्छन् उनी ”जसरी हामी एक ठाउँमा बसेका छौँ त्यसरी नै हामी एक ठाउँमै हुनुपर्छ, सबैको सहकार्य र सबैको सहअस्थित्व कायम हुनुपर्छ । सबैले समान अधिकार उपभोग गर्न पाउनु पर्छ । प्राचीन मिथिला र अवधको साविकको इतिहास र भूगोल स्थापित हुनु पर्दछ । जसकालागि प्रदेश नम्बर दुईको नाम मिथिला र राजधानी जनकपुर कायम हुनुपर्छ ।”

Loading...