[लघुकथा] म चाेर बन्छु — धनप्रसाद सुवेदी ‘श्रमिक’

मुख्य समाचार साहित्य

१२ कक्षा पढ्ने नातिकाे कम्प्युटर- ल्यापटप झुम्याइदेखि वाकदिक भएका हजुरबुबा सम्झाउँदै भन्छन् : नाती राम्रोसँग पढ । अब त जीवनमा के बन्ने एउटा लक्ष्य हुनुपर्छ । अब पनि यसरी खेलमा झुम्मिएर हुन्छ त ?”

ल्यापटपमा बजिरहेको हिन्दी गीतकाे आवाजलाई थाेरै मधुर बनाएर नाति भन्छ : “साँच्चि के बनुँ हजुरबा ?”

हजुरबुबा : जे बने पनि हुन्छ, डाक्टर, इन्जिनियर, नेता, वकिल, व्यापारी, प्राध्यापक …..।
नाति : यीमध्ये ककसले के गर्छन् भन्नु न हजुरबा ।

हजुरबुबा ; तिमीलाई थाहा छैन र ? डाक्टरले चर्काे फि लिन सक्छन् र राम्रो कमाउँछन् । इन्जिनियरले ठेकेदारसँग मिलेर एउटै परियोजनामा कराेडाैँ कमाउँछन् । नेताले कमिसनबाट कराेडाैँ पाउँछन् । वकिलले एउटै मुद्दाबाट घरघडेरी जाेर्न सक्छन् । व्यापारीले १-२ वर्षमै ३ पुस्तालाई पुग्ने कमाउन सक्छन् । प्राध्यापकले माफदार ठाउँ जस्तै राजदूततिर नियुक्ति पाएर मालामाल हुनसक्छन्…।

हजुरबुबाकाे कुरा नटुङगिँदै नाति भन्छ : भयो हजुरबा मैले कुरा बुझेँ । म तपाईंले भनेका कुनै पनि बन्दिनँ । म त चाेर बन्छु ।

हजुरबुबा आश्चर्य मान्दै भन्छन् : के भन्छ याे !

बजिरहेको गीतलाई अझै मधुरो बनाएर नाति भन्छ: मलाई थाहा भयो, अन्ततः जसरी नि कमाउनु रहेछ र छिटो र धेरै कमाउन कुनै न कुनै तरिकाले चाेर्नु रहेछ, अझ लुट्नु रहेछ । तपाईंले अघि भनेका सबै आखिर घुमाउरो पाराका चाेर रहेछन्, अझ डाँका र लुटेरा भन्न पनि मिल्ने रहेछन् । ती सबै गरिब जनता ठग्ने, राजस्व लुट्ने रहेछन् । त्याे भन्दा साेझै चाेर्ने बरु भ्रष्टाचारीहरूकाे चाेर्ने, बदमासहरूकाे चाेर्ने, म त त्यसै चाेर बन्छु ।

हजुरबुबा नाजबाफ भए । नातिले गीतकाे आवाज चर्को बनायाे र ल्यापटपकाे माउस थिच्न थाल्याे ।