प्लाष्टिकको भाडामा खानेकुरा खाँदा हुनसक्छ क्यान्सर

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

के–के कारणले हुनसक्छ क्यान्सर ?

डिल्लीरमण सुवेदी, काठमाडौँ, ३ पुस, पछिल्लो समय नेपालमा क्यान्सर रोगको संक्रमण भयावह बनिरहेको छ । के गरिब, के धनी, के गाउँले, के शहरीया सबैलाई क्यान्सर लाग्ने गरेको छ । क्यान्सर रोगको उपचार निक्कै महङ्गो पनि छ । क्यान्सरको उपचार गर्दा धेरैको उठिबास लागिसकेको छ भने हुनेखाने पनि सडकमा आउने अवस्था छ ।

नेपालमा क्यान्सर रोग बढ्नुका कारणहरु खोजी गर्न नसक्नु, सरल उपचार विधिको प्रयोग गर्न नसक्नु, गुणस्तरीय प्रविधि भित्र्याउन नसक्नु, सरकारले अध्ययन र अनुसन्धानमा लगानी गर्न नसक्नु, सरकारी र निजी क्षेत्रका अस्पतालबीच समन्वय नहुनु आदि कारणले क्यान्सरको उपचार प्रविधि महङ्गो भएको र क्यान्सर रोग पनि फैलिरहेको नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ दाबी गर्छन् ।

विशेष गरी व्यवस्थित खानपानको अभावमा नेपालीलाई क्यान्सर लागिरहेको डा. श्रेष्ठको भनाई छ । प्लाष्टिकको भाँडा, बोतलमा खाने वा प्लाष्टिकको भाँडामा राखेको खानेकुरा खाँदा क्यान्सर हुने सम्भावना अत्यधिक रहेको पनि डा. श्रेष्ठले बताए । अम्मलका चीज अत्यधिक प्रयोग गर्ने, चिल्लो तारेको खानेकुरा धेरै खाने गर्दा पनि क्यान्सर हुने उनको भनाई छ ।

क्यान्सर लाग्ने कारणहरुः
— सुर्तीजन्य वस्तुको सेवन गर्दा
— अम्मल चिजको सेवन गर्दा
— खानपिनमा विशेष सावधानी नअपनाउँदा
— मासु बढी खाँदा
— नुन बढी खाँदा
— केमिकल वस्तु मिसिएको खानेकुरा खाँदा
— प्लाष्टिकको भाडा, बोतलमा राखिएको खानेकुरा खाँदा
— चिल्लो र तारेको खानेकुरा धेरैँ खाँदा
— शारीरिक ब्यायाम नगर्दा
— शरीरलाई सफा नराखी फोहोर गर्दा
— अत्यधिक मात्रामा घाममा बस्दा पनि छालाको क्यान्सर हुनसक्छ ।

यति चिजबाट बच्ने हो भने नेपालीलाई लाग्ने क्यान्सर रोगको मात्रा ५० प्रतिशतले घट्ने डा. श्रेष्ठ बताउँछन् । क्यान्सरको सुरुको अवस्था पत्ता लगाएर उपचार गर्न सके ३० प्रतिशत क्यान्सर निको हुने उनको भनाई छ । क्यान्सरबाट कोही पनि डराउन आवश्यक नरहेको उनको भनाई छ । ‘क्यान्सर पनि अन्य दीर्घ रोगजस्तै एक रोग हो । यसलाई पनि समयमा उपचार गर्न सके निको पार्न सकिन्छ’ उनले भने । क्यान्सर रोग लागेपछि आत्तिने र नेपालका चिकित्सकलाई विश्वास नगरी विदेश जाने परम्परा बसेको डा. श्रेष्ठ गुनासो गर्छन् । जुनसुकै किसिमको क्यान्सरको उपचार पद्धति नेपालमा आइसकेकोले अब विदेश जान र लाखौँ खर्च गर्न आवश्यक नरहेको उनको सल्लाह छ ।

Loading...