असुरक्षित गर्भपतन गराउनेको अवस्था भयावह

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, ३ पुस, नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन भईरहेको तथ्याङ्कले देखाएको छ । रिपोर्ट अनुसार ४२ प्रतिशतले मात्रै सूचिकृत स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गराउने गरेका छन् ।

ग्रामीण महिला सञ्जाल, (रुओन नेपाल) ले सोमबार एक कार्यक्रमको अयोजना गर्दै सुरक्षित गर्भपतन तर्फ सचेतना बढाउनु पर्ने उल्लेख गरेको छ । रुओन नेपालकी कार्यक्रम संयोजक सम्झनाकुमारी पहाडीले सुरक्षित गर्भपतन र सुरक्षित शारीरिक सम्बन्धको विषय संवेदनशील भएकोले यस बारेमा सकारात्मक एवम् प्रभावकारी सूचना सम्प्रेषण गर्नु पर्ने बताइन् ।

कार्यक्रमका सहजकर्ता सन्तोष भण्डारीले देशका ग्रामीण भेगमा सुरक्षित गर्भपतन सम्बन्धी जानकारी नभएको र असुरक्षित गर्भपतनका कारण अकालमा धेरै महिलाहरुको ज्यान जाने गरेको दृष्टान्त दिएका थिए ।

गर्भपतन गर्न पाउने अवस्था
कानुनतः गर्भवती महिलाको इच्छाविपरित गर्भपतन गराउन पाइदैन । यता महिलाको इच्छाअनुसार १२ हप्तासम्मको गर्भपतन, हाडनाता करणी तथा बलात्कृत भएको अवस्थामा २८ हप्तासम्मको गर्भ पतन गराउन पाइन्छ । यसैगरी बच्चा विकलाङ्ग तथा अंगभङ्ग भएको, स्वस्थ जन्मिने अवस्था नभएको, बच्चा तथा आमाको स्वास्थ्यमा प्रतिकुल असर पर्छ भनि स्वास्थ्यकर्मीले प्रमाणित गरेको अवस्थामा सुरक्षित गर्भपतन गर्न पाइन्छ ।’

गर्भपतन गर्न नपाउने अवस्था
गर्भवती महिलाको स्वीकृति बिना (करकाप, डर, धम्की, ललाई फकाई, तथा प्रलोभनमा पारी) गर्भपतन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । १२ हप्तापछि गर्भमा रहेको भ्रुणको विकाससँगै लिङग पहिचान हुने हुँदा त्यसपछि गर्भपतन गर्न पाईदैन, स्वीकृत संस्थामा र स्वीकृत स्वास्थ्यकर्मी बाहेकले गर्भपतन गराउन पाउँदैनन् । १८ वर्ष मुनि तथा मानसिक अवस्था ठीक नभएको अवस्थामा नातेदारको स्वीकृतिबिना गर्भपतन गर्न नपाइने व्यवस्था कानुनमा छ ।

गर्भपतन गराउने गुणस्तरीय औषधीको अभाव हुनु, एमभिए प्रविधि उपलब्ध नहुनु, सूचनाको पहुँच नहुनुजस्ता कारणले पनि पछिल्लो समय गर्भपतन र यसले पार्ने प्रभावहरु विकराल बन्दै गइरहेका छन् ।