नगरपालिकाले गरायो कृषकलाई अवलोकन भ्रमण

कृषि मुख्य समाचार

केशवराज भण्डारी, झापा, ३ पुस, अर्जुनधारा नगरपालिका कृषि शाखाको आयोजनामा कृषकलाई अध्ययन, अवलोकन भ्रमणमा लगिएको छ । नगरभित्रका ३० जना कृषक, दुईजना वडाध्यक्ष, कृषि विकास शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागितामा भ्रमण सम्पन्न गरिएको हो ।

भ्रमण कार्यक्रम झापाको गौरादह नगरपालिका वडा नं. ६ मा रहेको महारानिझोडा साना किसान कृषि सहकारी सँस्था लि.द्वारा सञ्चालित बिउ प्रशोधन केन्द्र र नमुना एकीकृत सहकारी खेतीको अध्ययन अवलोकन गरी सम्पन्न गरिएको छ ।

अध्ययनका क्रममा सहकारीले गरेको चाक्लाबन्दी खेती र त्यसको अवधारणाका विषयमा एकीकृत नमुना खेतीका अध्यक्ष वेदनिधि चापागाईले सुझाएका थिए । विभिन्न प्रविधिबाट गरिएको सहकारी खेतीमा ८२ विगाहा जमिन लिजमा लिई ब्यवसायिक गाई पालन, अचार उद्योग, कृषक पाठशाला लगायतका कार्यक्रम तथा गतिविधि सञ्चालनमा रहेका छन् । सामुहिक खेतीको अवधारणामा अगाडि बढेका कृषकहरुको सो खेती नेपालमै पहिलो र सफल खेतीको रुपमा परिचित छ ।

साना किसान कृषि सहकारीबाट सञ्चालन गरिएको खेतीको अवलोकन पश्चात अर्जुनधारा नगरपालिका भित्र पनि यस किसिमको सामुहिक खेतीको अवधारणामा कृषिको विकास गर्नुपर्ने बताउँछिन् अर्जुनधाराकी ब्यवसायिक कृषक बृन्दा लुइटेल । भ्रमणमा सहभागि कृषकहरुमा सहकारी खेतीको अवलोकन र यहाँको प्रविधिबारे केही बुझाइपछि आफ्नो नगरमा पनि यस प्रकृतिको सामुहिक खेतीलाई योजनावद्ध रुपमा आगाडि बढाउनु पर्ने साथै आफू पनि साना किसान कृषि सहकारीको अध्यक्ष भएको बताउँछन् अर्जुनधारा ११ का वडा अध्यक्ष भैरव खड्का ।

कृषकलाई एकीकृत खेती प्रणालीको जानकारीका साथै चक्लाबन्दी खेतीका लागि अग्रसर गराउने उद्देश्यका साथ भ्रमण कार्यक्रमको आयोजना गरिएको अर्जुनधारा नगरपालिका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले बताए । उनी भन्छन् ‘ब्यावसायिक कृषि विकासका लागि सामुहिक खेती नै आजको आवश्यकता बनेको हुँदा कृषकलाई यो एकीकृत नमुना खेतीबाट केही सिकाइ हुनेछ ।’

अर्जुनधारा नगरपालिका झापाले नगरको वडा नं. ८ लाई कृषि पकेट क्षेत्र घोषणा गरेसँगै पछिल्लो समय ब्यवसायिक कृषिका क्षेत्रमा कृषकहरुको चासो बढेको पाइएको छ । यहि चासो र उत्साहमा थप टेवा पुर्याउने साथै ब्यवसायिक खेतीको अवधारणा तयार गर्न सहयोग पुर्याउने उद्देश्य राखेर अध्ययन अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरेको वडा नं. ७ का वडा अध्यक्ष नवीन ढुंगानाले बताए ।