चटौतलाई षडानन्द राष्ट्रिय पुरस्कार र सम्भवलाई षडानन्द पुरस्कार अर्पण

मुख्य समाचार विषेश समाचार साहित्य

काठमाडौँ, २६ मङ्सिर, सुदूरपश्चिमको भाषा, इतिहास, संस्कृति र दर्शनका अध्येता आर.डी प्रभास चटौललाई षडानन्द राष्ट्रिय पुरस्कार र पूर्व धनकुटाका वरिष्ठ साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ लाई षडानन्द पुरस्कार अर्पण गरिएको छ । आबाल ब्रह्मचारी षडानन्दको १८४ औँ जन्म जयन्ती तथा प्रतिष्ठानको ११औँ वार्षिकोत्सव पारेर आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले बुधबार दुबै स्रष्टाहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आध्यात्म चिन्तक प्रा. शिवगोपाल रिसालले स्रष्टा चटौतलाई पुष्पमाला, रुद्राक्षको माला, प्रमाणपत्र र नगदसहित सम्मान गरे । चटौतले लामो समय नेपाली र सुदूरपश्चिमेली भाषा, साहित्य, संस्कृति, इतिहास र गीता दर्शनका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै पुरस्कृतत गरिएको हो । सम्मानीत स्रष्टाको बारेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ यज्ञराज उपाध्यायले बोलेका थिए । पुरस्कारको राशी ५० हजार नगद रहेको छ । यो पुरस्कार विभिन्न दाताहरुको अक्षयकोषबाट स्थापना गरिएको हो ।

यसैगरी अर्का स्रष्टा प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ लाई र कार्यक्रमका विशेष अतिथि वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले पुष्पमाला, रुद्राक्षको माला, प्रमाणपत्र र नगदसहित सम्मान गरे । सम्भवले नेपाली साहित्य र शिक्षाको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै पुरस्किार अर्पण गरिएको हो । सम्भवको बारेमा प्रतिष्ठानका आजीवन सदस्य प्रा. महेश्वर न्यौपानेलेले बोलेका थिए । भोजपुरको दिङलाका निरञ्जन चापागाईँ र गायत्री कुमार चापागाईले आफ्ना स्वर्गीय पितामाता डण्डपाणि र युवाकुमारी चापागाईका स्मृतिमा स्थापित कोषबाट प्रदान गरिएको यो पुरस्कारको राशी २५ हजार नगद रहेको छ ।

वरिष्ठ साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठ

कार्यक्रममा २०७४ को एसईई परीक्षामा सर्वोत्कृष्ठ नतिजा ल्याउन सफल श्री वीरेन्द्र माध्यमिक विद्यालय, साल्पा सिलछो भोजपुरलाई षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार पनि अर्पण गरिएको छ । यसको पुरस्कार राशि १५ हजार नगद रहेको छ । पूरस्कार विद्यालयका प्रधानाध्यापक परशुराम विष्टले ग्रहण गरेका थिए । यसैगरी भोजपुरको षडानन्द मा.वि. मा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिने ‘षडानन्द छात्रवृत्ति र षडानन्द संस्कृत छात्रवृत्ति’ को बारेमा पनि जानकारी गराइएको थियो ।

कार्यक्रमको अर्को खण्डमा प्रतिष्ठानद्वारा प्रकाशित आबाल ब्रह्मचारी षडानन्द अधिकारीको जीवन कथा (षडानन्द ग्रन्थमाला–६), आबाल ब्रह्मचारी षडानन्द अधिकारी स्मृतिग्रन्थ (षडानन्द ग्रन्थमाला–७) र गद्य रचनामा षडानन्द (षडानन्द ग्रन्थमाला–८ को लोकार्पण पनि गरिएको थियो ।

कार्यक्रमको तेस्रो खण्डमा मन्तब्य राख्दै भोजपुरका पूर्वमन्त्री तथा सांसद कृपासुर शेर्पाले षडानन्दको योगदान अतुलनीय रहेको स्मरण गर्दै संस्कृत भाषा सम्पूर्ण भाषाको जननी भएकोले यसको संरक्षण गर्नु पर्ने उल्लेख गरे । नेपाली भाषामाथि पनि प्रहार भइरहेको बेला संस्कृतिलाई बेवास्ता गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि डा. जगमान गुरुङले नेपाल तपोभूमि र ज्ञानको केन्द्र भएको उल्लेख गरे । आबाल ब्रम्हचारीको जन्म पनि ज्ञानको प्रचारकको रुपमा नेपालमा अवतरण भएको बताए । उनले रामायण र महाभारतको उदाहरण दिँदै वेदब्यास, श्रीङ्गी ऋषि र मर्यादा पुरुषोत्तम राम पनि नेपालका धर्तीपुत्र भएको दृष्टान्त प्रस्तुत गरे । अहिले पनि नेपाल साधनाभूमिको रुपमा परिचित भएको भन्दै गुरुङले षडानन्द पनि एक साधक भएको उल्लेख गरे । उनले षडानन्दले पूर्वमा शिक्षाको ज्योति फैलाउने महत्वपूर्ण काम गरेको भन्दै हामी सात्विक हुन सके अर्को आबाल ब्रह्मचारीको जन्म पुनः हुने दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. शिवगोपाल रिसालले आबाल ब्रम्हचारीको जन्म जयन्ती मनाउन पाउँदा खुसी लागेको बताए । सम्मानीत स्रष्टाहरुलाई बधाई दिँदै रिसालले आगामी दिनमा आध्यात्म, अनुशासन र नैतिकताको आधारमा पनि पुरस्कार राख्न प्रतिष्ठानलाई आग्रह गरे । पछिल्लो समय संख्यात्मक आधारमा विद्यार्थीको गुणस्तर मापन हुन थालेको भन्दै रिसालले असल व्यवहार, नैतिकता र आध्यात्मिक ज्ञानको आधारमा सानैदेखि विद्यार्थीलाई पढाउन सके देश शान्तिपूर्ण र सुखी हुने बताए ।

प्रतिष्ठानका अध्यक्ष विष्णुराज कुसमको सभापतित्वमा भएको सो कार्यक्रममा प्रष्ठिानका महासचिव प्रा. लालानाथ सुवेदीले अतिथिहरुलाई स्वागत गरेका थिए ।