राष्ट्रपति आज लुम्बिनी आउनुहुँदै

मुख्य समाचार राजनीति विषेश समाचार

बुटवल, २२ मङ्सिर, लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउनुहुने भएको छ ।

स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिनुभयो । विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ ।

बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याउनुहुने नेपालका ख्यातीप्राप्त बौद्धधर्मका ज्ञाता र विश्वविद्यालयका पूर्वउपकुलपतिका साथै पूर्व रजिष्ट्रारलाई सम्मान पनि गरिने निमित्त उपकुलपति आचार्यले जानकारी दिनुभयो । विशेष समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, सङघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहने जनाइएको छ ।(रासस)