क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना

खेलकुद मुख्य समाचार

काठमाडौं, १८ मंसिर, जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहँदै आएका युवा क्रिकेटर सन्दीप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलबारदेखि जेभियरमा भर्ना भएका हुन् ।

बौद्ध टुसालस्थित जेभियर इन्टरनेशनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको भर्ना फारम भरे । उनलाई कलेजको कार्यकारी निर्देशक लोकबहादुर भण्डारी र प्रिन्सिपल गोपाल भण्डारीले स्वागत गरेका थिए ।

सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) मा भर्ना भएका हुन् । उनलाई चार वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।

जेभियर इन्टरनेशनल कलेजले गरिब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मान स्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको निर्देशक भण्डारीले बताए ।

सन्दीपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने कलेज परिसरमा आयोजित कार्यक्रममा बताए । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनको भनाई छ ।

Loading...