पर्यटक लोभ्याउँदै मकवानपुरगढी

पर्यटन मुख्य समाचार

प्रकाश अधिकारी  हेटौँडा, १६ मङ्सिर  शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका  बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी  प्रत्यक्ष नियाँल्न पाउँदा खुशी लागेको बताउनुहुन्छ  ।

रोजगारीका सिलसिलामा लामो समय कतारमा बस्नुभएका उहाँलाई  स्वदेश फर्केपछि घरमै बसिरहन मन लागेन । दशैँ–तिहार मानेर पोखरेल परिवारसहित सुर्खेतदेखि मुगुको रारा र लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै काठमाडौँसम्मको यात्रा गरिसकेपछि आफूलाई उक्त गढी पनि हेर्न रहर जागेर आएको उहाँ  उल्लेख गर्नुहुन्छ ।

दामनका सुशील भुजेलले पनि उक्त गढी अवलोकनका लागि आउनुभयो । “जिल्लाकै बासिन्दा भए पनि यहाँ आउने मौका जुरेको थिएन”, भुजेल भन्नुहुन्छ, “सरकारले उक्त गढीलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा ग¥यो अब यहाँ पर्यटक भित्र्याउनेतर्फ लाग्नुपर्छ ।” नेपालको एकीकरणसँगै जोडिएको सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा तीनवटै तहका सरकारको उत्तिकै ध्यान पुग्नुपर्ने उहाँको  सुझाव छ  ।

मकवानपुरगढीमा अचेल पर्यटकको चाप बढ्न थालेको छ । बिदाका दिन हेटौँडाबजारबाट ‘रिफ्रेस’ हुन त्यहाँ पुग्नेहरुको भीडभाडको दृश्य कुनै मेलाको भन्दा कम देखिँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कात्तिक १५ गते घोषणा गरेको मुलुकका सय पर्यटकीयस्थलमध्ये मै पर्दछ, मकवानपुरगढी । स्थानीयवासी उद्धव घिमिरेका अनुसार पछिल्लो समय गढी क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो छ । “पहिले आक्कलझुक्कल देखापर्थे आजभोलि अझ बिदाका दिनमा त मेलै लागेजस्तो हुन्छ” उहाँ भन्नुहुन्छ  ।

चीनको ‘ग्रेटवाल’को झल्को दिन्छ, गढीको प्रवेशद्वारले । यहाँ उभिएर फोटो र ‘सेल्फी’ खिच्नेहरुले झनै रौनक बढाइदिन्छन् । गढी क्षेत्रलाई ‘पिकनिक स्पट’का रुपमा विकास गरिएको छ । विभिन्न जिल्लाका स्कूल, कलेज, समूह र सहकारीका भ्रमणले गढीमा दिनहुँजसो आगन्तुकको ओइरो लाग्ने गर्दछ । व्यवस्थित अभिलेख नभए पनि सडक कालोपत्र तथा सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् ।

मकवानपुरगढी ऐतिहासिकस्थल भएकाले गाउँपालिकाको नाम पनि मकवानपुरगढी राखिएको हो ।साढे दुई सय वर्षअघि यही स्थानबाट अङ्गे्रजको फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास छ । मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी क्षेत्र हेटौँडाबाट १७ किमी पूर्वमा अवस्थित छ । पक्की सडकका कारण पर्यटकलाई थप सहज भएको हो । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करीब १३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढी पनि हो । यहाँ अझै पनि पुराना दरबारसहित विभिन्न संरचना भग्नावशेषका रूपमा छन् । विसं १६१० मा सेनवंशीय राजाको शासनकालमा गढी निर्माण भएको अध्ययनबाट देखिन्छ ।

‘विजय स्मारक’

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं गुरुयोजना बनाएर गढी संरक्षण र प्रवद्र्वनमा आफूहरू जुटेको बताउनुहुन्छ  । गढीलाई बृहत् विजय स्मारकका रूपमा अगाडि बढाउन लागिएको छ । दरबार, विजय पार्क, सानो गढी र ढुङ्गे गढीलाई जीर्णोद्धार गरी ‘विजय स्मारक’का रूपमा विकास गर्न लागिएको उहाँको भनाइ छ ।

नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुरगढीमा माघ १० गते विजय उत्सव मनाइने भएको छ  । विसं १८१९ माघ १० गते तत्कालीन अङ्ग्रेज फौजलाई नेपाली ९गोर्खाली० सेनाले पराजित गरेका थिए । तीन हजार सङ्ख्यामा रहेको अङ्ग्रेज फौजलाई मकवानपुरगढी दरबारको तल्लो भाग शिखरकटेरीबाट नेपाली सेनाले अगाडि बढ्न नदिएर पराजित गरेको इतिहास थियो । विजयीस्थल शिखरकटेरी किल्लादेखि ढुङ्गे गढीसम्म पदमार्ग निर्माण गर्ने र नेपाल–अङ्ग्रेज युद्ध तथा नेपालको एकीकरण इतिहास झल्किने बृहत् स्मारक बनाउने गाउँपालिकाको योजना छ ।

गढी क्षेत्रमा मुकुन्द सेनकी रानीले रानी चौतारो बनाउन लगाएकी थिइन् । उक्त चौतारो अझै पनि देख्न सकिन्छ । अध्यक्ष हुमागाईं विजयी किल्लालाई ‘विजय पार्क’ बनाएर त्यहीँबाट पदमार्ग शुरु गरिने बताउनुहुन्छ । गढीको संरक्षण र स्मारक निर्माण गर्न चालू आवमा सङ्घीय सरकारले रू ८० लाख, प्रदेशले रू ५० लाख र स्थानीय सरकारले रू १५ लाख गरी रु एक करोड ४५ लाख बजेट विनियोजन गरिसकेका छन्  ।

गढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरखगण स्थापना गरेका थिए । चारैतिर अग्लो पर्खालले घेरेको सेनको दरबार थियो । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली हो । पृथ्वीनारायण शाहले यही सम्बन्धका आधारमा मकवानपुरगढीको सुरक्षा स्थिति बुझेर आक्रमणको योजना बनाएका थिए ।

 

Loading...