वैदेशिक रोजगारीको कारुणिक कथा : मलेसियामा यातना, स्वदेश आएपछि थप यातना !

आजका पत्रपत्रिका मुख्य समाचार रोजगार

घरपरिवार पाल्न दु:ख थियो । विदेश जाने सोच बनाएँ । गाउँकै एजेन्ट विनोद यादवमार्फत ललितपुरको न्यू कोलोनीस्थित नाइस ओभरसिजलाई डेढ लाख बुझाएर १३ माघ २०७४ मा मलेसिया उडेँ ।

दैनिक १२ घण्टा काम गर्ने र मासिक २१ सय रिंगेट (करिब ५७ हजार रुपैया) दिने करार भएको थियो । वैदेशिक रोजगार विभागमा पनि करारपत्र बुझाइएको थियो । तर, त्यहाँ पुगेपछि कम्पनीले १७ सय रिंगेट दिने गरी जबर्जस्ती अर्को करारपत्रमा हस्ताक्षर गर्न लगायो । काम भने ३६ घण्टासम्म पनि लगायो । भनेअनुसार काम नगरे कुटपिट तथा यातना दिन्थ्यो । ९ महिनासम्म काम गरेको जम्मा ८ हजार ७ सय ८२ रिंगेट (२ लाख ३० हजार रुपैयाँ) मात्रै पाएँ ।

यातना बढ्दै गएपछि म स्वदेश फर्किने प्रयासमा लागेँ । तर झन् यातना भोग्नुपर्यो । मैले श्रीमतीलाई सबै भनको थिएँ । उनले म्यानपारवरमा गएर श्रीमान् फर्काइदिन दबाब दिन थालिन् । वैदेशिक रोजगार विभागमा पनि उजुरी दर्ता गराईन् । तर नेपालमा उजुरी दिएको कुरा म्यानपावरले रोजगारदाता कम्पनीलाइई भनिदिएछ । विभागले पनि निवेदन दिएको साढे तीन महिनासम्म उद्दारको पहल गरेन । मेरी श्रीमतीलाई उल्टै उजुरी फिर्ता लिन दबाब दिएछ ।

मलाई उता झन् यातना दिन थाल्यो । चार दिनसम्म एउटा कोठामा बन्धक बनायो । उजुरी फिर्ता नलिए तलाई मारेर बाकसमा फिर्ता पठाउँछु भन्दै कुटपिट गर्थे । यातनाकै कारण मेरो दायाँ हात राम्रोसँग नचल्ने भयो । बाँच्ने आश नै मरिसकेको थियो । मेरो हालत श्रीमतीलाई थाहा थियो ।

उनले श्रीमान् मर्ने भयो भनेर म्यानपावरले चाहेअनुसार ३० कात्तिकमा कागज गरिछन् । त्यसमा मैले करारअनुसार सुविधा पाइरहेको र आफ्नै स्वेच्छामा स्वदेश फर्किन चाहेको तथा फर्किएपछि म्यानपावरविरुद्ध उजुरी नगर्ने लेखिएको रहेछ । विभागकै राहत तथा उद्दार शाखाका अधिकृत रञ्जन तिमिल्सिनाको रोहबरमा कागज तयार भएको श्रीमतीले सुनाइन् । तर, त्यसपछि पनि फर्काउने पहल नभएपछि भाइ उपेन्द्रले श्रममन्त्री गोकर्ण विष्टको सचिवालयमा गुहार मागेछन् । मन्त्रीका प्रेस संयोजक मदन खनालले म्यानपावरलाई दबाब दिएपछि कम्पनीले फर्किन दियो ।

सोमबार यहाँ आएलगत्तै क्षतिपूर्तिका लागि विभागमा उजुरी दिन गएँ । तर, नेपाल फर्किएपछि कुनै उजुरी नगर्ने सहमति श्रीमतीले गरेको भन्दै विभागका कर्मचारी तिमिल्सिनाले उल्टै झपारे । त्यसपछि मन्त्रालयमै गएर समस्या सुनाएँ । तर, मेरो उजुरी अझै दर्ता भएको छैन । मलेसियामा त्यत्रो यातना पाएर फर्किएँ, स्वदेशमा थप यातना पाइरहेको छु ।

(सप्तरी तिलाठीका राजेन्द्र मरिक डोमको बयान, आजको नयाँपत्रिका दैनिकले छापेको छ)

Loading...