तीन स्थानमा कला प्रशिक्षण केन्द्र खुल्यो

कला/संस्कृति मुख्य समाचार

केशवराज भण्डारी, विर्तामोड (झापा), १५ मंसीर, अर्जुनधारा नगरपालिकाका स्थायी बासिन्दा चिरञ्जीवी अधिकारी र विराज बास्कोटाले ८ लाख बढीको लागतमा अर्जुनधाराकै तीन स्थानमा आर्ट एकाडेमीको स्थापना गरेका छन् । सांस्कृतिक रुपान्तरणमार्फत समाज परिवर्तन गर्ने उद्देश्यले नृत्य, अभिनय र गायनसम्बन्धी प्रशिक्षण दिने शिक्षालयको स्थापना गरेका हुन् ।

उनीहरुले अर्जुनधारा–१० स्थित कालीस्थान, कप्तानवाडी र लक्ष्मीपुरमा ॐकार एकाडेमी नामक प्रशिक्षण केन्द्र खोलेका छन् । शनिबार अर्जुनधारा–१० स्थित ॐकार आर्ट एकाडेमीको समुद्घाटन गर्दै अर्जुनधारा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले संस्कृतिलाई हिंसाविरोधी कार्यतर्फ उन्मुख गराउनुपर्ने धारणा राखे ।

कार्यक्रममा अर्जुनधारा वडा नं–१० का अध्यक्ष बलदेव गोम्देन, कालीस्थान मा.वि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद चापागाईंलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा सुपर डान्स इन्डियामा सहभागी अर्जुनधाराकै लिसारा थापा मगर, पूर्वाञ्चल आइडल विसम आचार्य, लेट मी डान्स नेपालको फस्ट रनर अप अनिशा ओलीलगायतका कलाकारले आकर्षक प्रस्तुती दिएका थिए ।

विराज बास्कोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चिरञ्जीवी अधिकारीले आगन्तुकलाई स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन पुष्प तिवारीले गरेका थिए ।

Loading...