‘आँशु झरेकै राम्रो’ गीतिसङ्ग्रह लोकार्पण

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, १५ मङ्सिर, गीतकार नरेन्द्र निर्बिकारको गीतिसङ्ग्रह ‘आँशु झरेकै राम्रो’ लोकार्पण गरिएको छ । आज कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा उपस्थित अतिथिहरुले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् ।

गीतिसङ्ग्रहको समीक्षा गर्दै समीक्षक सुरेश हाँचेकालीले गीतकार निर्बिकारले खोटाङको दुर्गम गाउँमा बसेर पनि उत्कृष्ठ रचना सिर्जना गर्न सकेको बताए । मोफसलमा बसेर उत्कृष्ट सिर्जना गर्न सकिदैन भन्ने सोचाईलाई उनका गीतले चिरेको उनले बताए । कृतिमा दुःख, वेदना, जीवन भोगाई, प्रेम लगायतका विषयका गीतहरु समावेश गरिएका छन् । गीत लेख्दा पुरानो संरचनालाई केही मात्रामा अनुसरण गरिए पनि केही गीतहरु त्यो माथि माथि उठेको उनले बताए । पुरानो परम्परा कपि गरिए पनि त्यो भन्दा माथि उठेर फरक ढंगले गीतहरु लेखिएको उनको दाबी थियो ।

अर्का समीक्षक डा. विष्णु राईले एउटा शिक्षकको जीवन भोगाई र पारिवारिक दुःख पनि कृतिमा समावेश भएको बताए । दुर्गममा बसेर पनि साहित्य सिर्जनामा समय दिन सकेको र उत्कृष्ट गीतहरु तयार गरेको भन्दै गीतकारको प्रशंसा गरे । कार्यक्रममा भूपाल राई, खगेन्द्र राई, जसराज किराती, प्रदेश सांसद रामकुमार राई लगायतले बोलेका थिए ।

रावासावा प्राज्ञिक समाज नेपालको आयोजनामा भएको सो कार्यक्रमको प्रमुख आतिथ्यता गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गरेका थिए । कार्यक्रममा उपस्थित पाहुनाहरुलाई कवि चन्द्र रानाहोछाले स्वागत गरेका थिए ।

Loading...