हनुमन्ते र राजमार्ग सफाइः २५ टन फोहर सङ्कलन

मुख्य समाचार स्वास्थ्य

रमेश गिरी      भक्तपुर, १५ मङ्सिर हनुमन्ते सफाइ अभियानको ४० औं हप्ता तथा अरनिको राजमार्ग सफाइको एकमहीने अभियानको आज १० औं दिन भक्तपुर र सूर्यविनायक नगर क्षेत्रबाट २५ टन फोहर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा सञ्चालन भइरहेको हनुमन्ते नदी सफाइ र जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भइरहेको अरनिको राजमार्ग सफाइ अभियान एकत्रित गरी आज भएको सफाइ अभियानमा सुरक्षाकर्मीदेखि जनप्रतिनिधिसमेत हातमा कुचो लिएर सफाइमा जुटेका थिए ।

प्रतिनिधिसभाका सदस्य महेश बस्नेतको पहलमा शुरु भएको हनुमन्ते नदी तथा अरनिको राजमार्ग सफाइ अभियानका क्रममा आज मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानामा रहेको राधेराधे अगाडिको हनुमन्ते पुलबाट सफाइ शुरु भई सल्लाघारी पुगेर सम्पन्न भएको थियो । पूर्वमन्त्री बस्नेतसँग प्रदेश नं ३ का प्रदेशसभा सदस्य शशीजङ्ग थापा, हनुमन्ते सफाइ अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र  उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र  उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेकपा भक्तपुरका अध्यक्ष वचन देउजा  तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाका कर्मचारी, नगर प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षासेवीलगायतको सहभागिता थियो ।

कार्यक्रममा सांसद बस्नेतले सार्वजनिक ठाउँमा फोहर फालेर वातावरण प्रदूषण गर्नेलाई रु ५०० सयदेखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्मको कैद वा दुवै सजाय हुने गरी कारवाहीको व्यवस्था गरिने भएकाले जथाभावी फोहर नफाल्न सचेत गराउनुभयो ।

भक्तपुरलाई सफा, उज्यालो, सुरक्षित र  प्रदूषणरहित बनाउने लक्ष्यका साथ शुरु भएको सफाइ अभियान नरोकिने बताउँदै उहाँले भक्तपुरको विकास र समृद्धिमा अवरोध पु¥याउँदै फोहर गर्नेलाई कारवाही गरिने चेतावनी दिनुभयो ।  टोल टोलमा विद्यार्थीदेखि स्थानीयवासीसम्मको संलग्नतामा अनुगमन टोली बनाई फोहर फाल्नेमाथि निगरानी बढाइएको बताउँदै उहाँले भक्तपुरको विकास र समृद्धिमा सबैलाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो । आजको अभियानमा अहिलेसम्मकै धेरै ९५६  अभियानकर्मीको सहभागिता रहेको र उल्लेख्यसफाइ गरिएको अभियानकर्मी रुद्र पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी अरनिको राजमार्ग सफाइ अभियानकै क्रममा आज भक्तपुर नगरपालिकाको नगरक्षेत्रमा छुट्टै सफाइ अभियान सञ्चालन गरिएको छ । एकमहीने राजमार्ग सफाइ अभियानमा मध्यपुरथिमि र भक्तपुर नगरपालिकाको सिमाना हनुमन्ते खोलाबाट सफाइ शुरु गरी सल्लाघारी जस्तीको पुल हुँदै सूर्यविनायक चौबाटोसम्मको राजमार्ग तथा सर्भिस ट्र्याक सफाइ गरिएको छ ।

विद्यालयका विद्यार्थी, शिक्षक, विभिन्न सहकारी, सङ्घसंस्था, प्रहरी र सेनाको उल्लेख्य सहभागिता रहेको अभियानमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीलाई सफाइमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले भक्तपुर नगरभित्र रहेका विद्यालयले ‘एक विद्यालय एक सम्पदा सरसफाइ कार्यक्रम’ चलाई निरन्तरता दिएको बताउँदै हरेक कार्यमा गैसस र अन्तरराष्ट्रिय गैससको भर नपरी स्वावलम्बी भई आफैँले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य र खेलकूदमा नमूना बनी अगाडि बढिरहेको जिकिर गर्दै उहाँले विश्वविद्यालय खोल्ने लक्ष्य पनि राखिएको जानकारी दिनुभयो । अभियानका क्रममा भक्तपुर नगरपालिका क्षेत्रबाट १० टन फोहर सङ्कलन गरिएको थियो ।(रासस)

Loading...