ह्यात होटलमा एशिया प्यासिफिक शिखर सम्मेलनको तामझाम (फोटो फिचर)

फोटो फिचर मुख्य समाचार

काठमाडौं, १४ मङ्सिर, निक्कै विवादित बनेको एशिया प्यासफिक समिट– २०१८ का लागि काठमाडौँको ह्यात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । शिखर सम्मेलन यहि मङ्सिर १४ देखि १७ गतेसम्म हुने भएपछि होटलमा तामझाम भव्य देखिन्छ ।

ह्यात प्रवेशद्वारको मुल सडकमा भव्य प्रवेशद्वार बनाइएका छन् । ह्यातको मुख्य गेटबाट प्रवेश गरेपछि जताततै फूलैफूलले आगन्तुकको स्वागत गर्दछन् । विजुलीका पोलहरु सबै फूलले ढाकिएका छन् । होटलको वरपर ढुंगा बिच्छ्याइएका सिँढीहरुमा समेत रेड कार्पेट ओच्छ्याइएको छ ।

होटल प्रवेशका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहित ‘सम्मेलनमा सहभागीलाई स्वागत’ लेखिएको ठूलो होर्डिङ बोर्ड देखिन्छ । त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, सम्मेलन आयोजक समितिका अध्यक्ष माधवकुमार नेपाल, युनिभर्सल पिस फेडरेशन अन्तर्राष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स, युपिएफ नेपालका अध्यक्ष एकनाथ ढकाल, फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथै आइएपिपिका अन्तर्राष्ट्रिय सहअध्यक्ष जोसे डे भेनेसिया जुनियरलगायतका विशिष्ट ब्यक्तित्वहरूको फोटोसहित ‘सहभागीलाई स्वागत’ लेखिएका ठूला होर्डिङ बोर्डहरु देख्न सकिन्छ ।

शिखर सम्मेलनमा सहभागी हुन वर्तमान तथा पूर्वराष्ट्राध्यक्ष/सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, सञ्चारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू गरी ४५ मुलुकका १५ सय जना विदेशी पाहुना आइसकेको आयोजकले जनाएको छ ।

 

Loading...