मुख्यमन्त्री पोखरेलद्वारा निर्माणाधीन पुलको अनुगमन

प्रदेश मुख्य समाचार विषेश समाचार

नारायणपुर, १२ मङ्सिर प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङका खोलाहरुमा निर्माणाधीन पुलहरुको अनुगमन गर्नुभएको छ । लामो समयदेखि कार्य सम्पन्न हुन नसकेको पुल र सडकहरुको अवस्थाबारेमा आज मुख्यमन्त्री पोखरेलले अनुगमन गर्नुभएको हो ।

घोराही–लमही र घोराही–तुलसीपुर सडकखण्डमा निर्माण भएका एक दर्जन पुलहरु चार÷पाँच वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेका छैनन् । घोराही–लमही सडकखण्डमा पर्ने कटुवा खोलापुल, बबई खोलापुल र घोराही–तुलसीपुर सडकखण्डमा रहेका ग्वारखोला, पत्रेखोला, सग्रामखोलामा पुल निर्माणको काम चार वर्षपहिले देखि शुरु भएको थियो । तर ठेकेदार कम्पनीको लापरवाहीका कारण काम सम्पन्न हुन नसकेको सडक डिभिजन कार्यालयका इञ्जिनियर दुर्गा शर्माले बताउनुभयो ।

पुलहरुको अनुगमन गर्दै मुख्यमन्त्री पोखरेलले तत्कालका लागि निश्चित समय निर्माण गर्दै काम सम्पन्न गर्नका लागि दबाब दिन डिभिजन कार्यालयलाई निर्देशन दिनुभयो । उहाँले निर्धारित समयभित्र कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरी अर्को सम्झौताका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नुभयो ।

बजेटको समस्या नभएको र समयमै निर्माण सामग्री उपलब्ध गराउँदा पनि ठेकेदारको लापरवाहीका कारण समयमै पुलको कार्य सम्पन्न हुन नसकेको इञ्जिनिएर शर्माले बताउनुभयो । घोराही–लमही र घोराही–तुलसीपुर सडकखण्डका १२ वटा खोलामा पुल निर्माणको काम भइरहेको छ । त्यसमध्ये पाँचवटा पुलको निर्माण सम्झौता समय सकिएर पनि काम अगाडि नबढेको इञ्जिनिएर शर्माले जानकारी दिनुभयो ।(रासस)

Loading...