एउटी सत्र वर्षीया युवतीको सपना !

मुख्य समाचार विचार विषेश समाचार

डिल्ली रमण सुवेदी, एउटा भनाई छ, ‘सपना त्यो होइन जुन रातभर सुतेर देखिन्छ, सपना त्यो हो जुन सपनाले रातभर सुत्न दिँदैन ।’ हो सपना अधिकांश मानिसले देख्छन् कसैले रातमा वा सुतिसकेपछि निन्द्रामा देख्छन्, कसैले दिनमा वा विपनामा देख्छन् । निन्द्रामा देखिने सपना सुतिसकेपछि देखिने हो, सपनाको अन्त्यमा झल्यास्स बिउँझिएला तर फेरि निदाउन पनि सकिन्छ । त्यो सपनाले सधैँ जागै राख्न सक्दैन । तर विपनामा देखिने सपनाले मान्छेलाई सुत्न दिँदैन, त्यसले निन्द्रा, भोक, तिर्खा सबै हरण गर्दछ ।

हो त्यस्तै सपना देखेकी छिन् एक १७ वर्षीया युवती बन्दना नेपालले । धनकुटाको तत्कालिन मूर्तिढुङ्गा गा.वि.स. हालको महालक्ष्मी नगरपालिकामा जन्मिएकी बन्दना भरखर १७ वर्षकी हुँदैछिन् तर सपना निक्कै ठूलो देखेकी छिन् । उनको सपना आफू बन्ने र बनाउने भन्दा पनि देश र देशबासीलाई चिनाउने खालको छ, शीर उँचो पार्ने खालको छ ।

उनको सपना व्यक्तिगत तर्फबाट विश्वकै सबैभन्दा लामो नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने हो । जसकालागि उनले भोक, निन्द्रा, थकान माया मारेर निरन्तर नाच्नु पर्नेछ । पुरापुर उनले १ सय २६ घण्टा नाच्ने तयारी गरेकी छिन् । जसकालागि मंसिर ७ गते बिहान ९ बजेदेखि नृत्य गर्न सुरु गरेकी बन्दनाले यी पङ्ति लेखिरहँदासम्म ८४ घण्टा भन्दा बढी नाचिसकेकी छिन् ।

यसअघि भारतको केरलाकी नृत्यांगना हेमलथा कलामण्डलमले लगातार १ सय २३ घण्टा १५ मिनेट नाचेर उनको र भारतको नाम गिनिज बुकमा लेखाएकी छिन् । सोही रेकर्डलाई तोड्न उनले यो निक्कै महत्वाकांक्षी प्रयास गरिरहेकी छिन् । उनको उत्साह, जाँगर र अभ्यासले सफल बनाउने छ भन्नेमा विश्वस्त बन्न सकिने छ ।

सत्र वर्षकी कलिली युवतीमा यस्तो सोँच कसरी आयो ? यो निक्कै गम्भीर विषय छ । उनीसँगैका युवतीहरु खाउँला र लाउँला, रमाइलो गरौँ, अध्ययन पुरा गरौँ भन्ने वर्गका छन् । तर बन्दना उनीहरुभन्दा फरक बन्दै विश्व रेकर्ड राख्ने दौडमा छिन् । हुन त मान्छे जन्मिदै फरक गुण र सोच लिएर आएको हुन्छ । त्यसैले पनि उनमा यो सोच आएको हुनु पर्छ । उनलाई जन्मदै यस्तो फरक गुण आएको हुनु पर्छ ।

उनी भन्छिन्, ‘मलाई सानैदेखि नाच्न भने धेरै रहर लाग्थ्यो । विद्यालय तहदेखि नै डान्स सिकेँ । निरन्तर अभ्यास गरेँ ।’ उनको भनाईबाटै थाहा हुन्छ उनी नृत्यको सौखिन मान्छे हुन् । ‘म जति नाँचे पनि नगल्ने, नथाक्ने, वाक्क नहुने मान्छे हुँ’ उनी भन्छिन् । उनको यही स्वभावले पनि उनमा आत्मबल बढ्यो ।

छोरीको नृत्य कला देखेर अचम्ममा परेका पिता राम नेपालको मनमा पनि कौतुहलता जागेको थियो । छोरीको यो विशेष गुणलाई कसरी बाहिर ल्याउन सकिन्छ होला भन्ने लागिरहेको थियो । कुनै दिन उनले हेमलथाको बारेमा थाहा पाए र छोरीलाई पनि सुनाए । त्यसपछि छोरीले पनि हुन्छ, सक्छु भनेपछि विश्व रेकर्डको तयारी सुरु भयो । पिताको सोच र छोरीको आत्मविश्वासले विश्व रेकर्ड राख्ने कार्य भइरहेको छ । जसले सफलता पाउनेमा पिता राम नेपाल निश्चिन्त छन् ।

कार्यक्रमको तयारी त्यति सजिलो थिएन । गिनिज बुकसँग सम्पर्क गर्न, उसको अनुमति पाउन लागिपरे उनी । उताबाट अनुमतिको मेल पाइसकेपछि कार्यक्रमको तयारी थाले । प्रायोजक खोज्ने, पत्रकार सम्मेलन गर्ने, स्पोर्ट खोज्ने, उद्घाटन कार्यक्रम गर्ने र नृत्यलाई निरन्तरता दिन कम हम्मे परेको होइन उनलाई । भन्छन्, ‘तर साथी भाइको सहयोग र आफ्नो मेहनतले यहाँसम्म आइपुगेँ ।’

छोरीको भोक, निन्द्रा बिथोलिएसँगै उनको पनि कम बिथोलिएको छैन । यो कार्यक्रम गर्ने भनेदेखि नै उनलाई राम्रो निन्द्रा परेको छैन । छोरीको स्वास्थ्यको चिन्ता त झन् ठूलो बनेर आएको छ । लगातार करिब ६ दिन नसुती नाच्दा छोरीको स्वास्थ्यमा पर्ने असर उनले अनुमान गर्न सकेका छैनन् । तर पनि छोरीको भविश्य र देशको नाम उच्च बनाउने अभियानले स्वास्थ्यलाई अहिले गौण मान्नु परेको छ । पहिले अभ्यासको क्रममा पनि छोरीले एक सय घण्टासम्म निरन्तर नाचेकोले खासै ठूलो असर नहोला भन्नेमा भने आशावादी छन् उनी ।

जे भए पनि एउटी कलिली युवतीले यस्तो महान सोच राख्नु चानचुने कुरा भने होइन । बन्दनाको आत्मविश्वासलाई सबै नेपालीले कदर गर्नै पर्दछ अझ उनी समानका युवा युवतीकालागि भने उनी प्रेरणाकी खानी नै हुन् । यो अभियानपछि उनकोजस्तो सपना र महान सोच अरुमा पनि आउन सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ । बन्दनालाई अग्रिम शुभकामना ।

Loading...