नेविसंघका असन्तुष्ट नेताहरुले दिए प्रतिकार गर्ने चेतावनी

मुख्य समाचार राजनीति

काठमाडौँ, ८ मंसिर, असन्तुष्ट नेताहरुले नेपाल विद्यार्थी संघलाई विधान विपरित अघि बढाउन खोजे प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । निवर्तमान केन्द्रीय समितिका २१ जना सदस्यहरुले आज एक विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वलाई यस्तो चेतावनी दिएका हुन् ।

उनीहरुले समयमै १२ औँ महाधिवेशन सम्पन्न गरेर कम्युनिष्टहरुको दुईतिहाईको सरकारलाई बलियो झापड दिनु पर्ने बेलामा ने.वि.संघ विधान विपरित सञ्चालित हुनु, महाधिवेशनको ढोका बन्द गरिनु आफैँमा दुःखद रहेको बताएका छन् । नेपाली कांग्रेस पार्टी र देशको लोकतन्त्रलाई बलियो बनाउने जिम्मेवारी ने.वि.संघमा रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘लोकतात्रिक शक्तिहरुलाई गोलबद्ध गरी लोकतान्त्रिक गणतन्त्रको रक्षा र कांग्रेस बलियो बनाउने जिम्मा हाम्रो काँधमा आएको छ । नेपाल विद्यार्थी संघ कमजोर हुँदा कांग्रेस कमजोर हुन्छ । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ र परिवर्तन गुम्न सक्छ ।’

उनीहरुले ने.वि.संघको विधानमाथि नै पार्टीले हस्तक्षेप गरेको पनि आरोप लगाएका छन् । महाधिवेशन समयमै सम्पन्न गर्नुको साटो वर्तमान कमजोर नेतृत्वको कमिटिकै २ महिना म्याद थप गरी वैधानिकता माथि प्रश्न उठाउनुका साथै सिङ्गो लोकतात्रिक प्रक्रिया माथि धावा बोल्ने कार्य भएको उनीहरुको दाबी छ । पार्टी नेतृत्वले अधिनायकवादी शैलीमा विधानमाथि हस्तक्षेप गरी ३२ वर्षे उमेर हद तोकिनु पनि गलत र दुःखद भएको उनीहरुले बताएका छन् । यसरी ने.वि.संघको गरिमा र सिङ्गो लोकतन्त्रमाथि प्रहार हुँदा आफूँहरु टुलुटुलु हरेर बस्ने नसक्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

नेपाल विद्यार्थी संघमा देखिएको विवादलाई वैधाननिक बाटोबाट समाधान गरी महाधिवेशनको वातावरण बनाउन पनि उनीहरुले आग्रह गरेका छन् तर यसैगरी ने.वि.संघलाई जबरजस्ती र विधान विपरित अगाडि बढाउने खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

यसरी पार्टी नेतृत्वलाई चेतावनी दिँदै विज्ञप्ति निकाल्नेहरु निम्नानुसार छन्ः
क्षितिज भण्डारी
मिथिलेस मिश्र
मनहरि श्रेष्ठ
मोतीलाल भण्डारी
अनिल खनाल
सन्तोष कट्टेल
कोषन पन्त
अनिल भुजु
महेश नेपाली
मनोज कोइराला
लिलाबल्लभ दाहाल
मन्जित ताम्राकार
प्रकाश महर्जन
ओम गुरुङ्ग
सन्तोष चौधरी
कृष्ण कट्टेल
इन्दु शर्मा
दिपा सिवाकोटी
सानु महर्जन
प्रमेश पोखरेल
उदय घिमिरे