[अनुसन्धानमूलक लेख] तमू (गुरुङ) जातिमा प्रचलित ‘टुङना’

मुख्य समाचार विचार

भरतकुमार गुरुङ
१. परिचय
नेपाल बहुजातिय, बहुभाषिक, र बहुसांस्कृतिक मुलुकको रूपमा परिचित रहेको कुरा सर्व विदितै छ । सबै जाति जनजातिहरूमा आआफ्नै रीतिथिति, परम्परा, भाषा, धर्म र संस्कृति रहेको पाइन्छ । यिनै जातजाति मध्ये मङ्गोलियन प्रजातिभित्र पर्ने आदिबासी जनजातिका रूपमा बसोबास गर्ने ‘तमू’ (गुरुङ) जाति नेपालकै एक प्रमुख जातिमा र्पदछ । तमू (गुरुङ) भाषामा ‘त’ को अर्थ घोडा र ‘मु’ को अर्थ आकाश भन्ने हुन्छ अर्थात् घोडा चढेर खुला आकाशमा गर्जने अदम्य साहस भएको जातिको रूपमा परिभाषित गरिएको छ । यसैगरी नेपालको गण्डक क्षत्रको स्याङजा जिल्लाको गह्रौँ राज्यको एक थुम गुरुङदीबाट ‘गुरुङ’ बन्न गएको ऐतिहासिक तथ्य पनि पाइन्छ । तमूहरूले प्रारम्भमा आफ्ना ससाना स्वतन्त्र राज्यहरू खडागरी राज्य सञ्चालन गर्दथे । पृथ्वीनारायण शााहको नेपाल एकीकरण अभियानसँगै वि.सं. १८७१ पछि तमू राज्यहरू विलय हुँदै गएको हुँदा तमू गुरुङहरू पश्चिमबाट क्रमशः पूर्व उत्तर हिमाली पहाडी भागतर्फ स्थानान्तरण हुँदै जान थाले । बसाइँसराइका क्रममा पश्चिम लमजुङबाट पूर्वतर्फ पशुपालन, भेडाबाख्रा चराउँदै भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङतर्फ तमू जातिहरूको प्रवेश भएको पाइन्छ ।

हिमाली तथा पहाडी भेगमा खुला चौरहरूमा ठूलाठूला भेडीगोठ चराउँदै तमू जातिहरू भेडापालक जातिको रूपमा परिचित हुँदै आयो । पश्चिमबाट पूर्व आउने क्रममा उनीहरूले आफ्नो भाषा, धर्म र परम्पराहरू क्रमशः छाड्दै जान थाले । भेडीगोठ चराउँदै हिमाली भेगमा बस्नु पर्दा साथै पूर्वका अन्य जातिहरूसँग मिश्रित रूपमा बसोबास गर्दा उनीहरूले सोही स्थानका रीतिथिति, धर्म संस्कृतिलाई अङ्गीकार गर्न समेत बाध्य भए । विशेषतः नेपालमा हिन्दूराज्यको अवधारणासँगै कतिपय धर्म, संस्कृति र परम्पराहरू हिन्दू परम्परासँग आबद्ध हुन पुगे । उनीहरूले पश्चिममा रहेका तमू जातिमा प्रचलित रोधी, सोरठी, घाटु जस्ता संस्कृतिहरूलाई पूर्वतर्फ स्थापित गर्न सकेनन् । यद्यपि गोठाले जीवनसँगै केही मौलिक संस्कृतिहरू तमू जातिले सुरक्षित गर्दै आएको पाइन्छ । त्यसमध्ये ‘टङना’ संस्कृतिलाई एउटा ज्वलन्त उदहारण लिन सकिन्छ । ‘टुङना’ एक प्रकारको परम्परागत मौलिक लोकजीवनमा प्रचलनमा रहेको तार बाजा हो जसको उत्पत्ति पशुपालन युगको मध्यकालबाट विशेष गरेर तमू (गुरुङहरू) बाट प्रारम्भ भएको कुरा सोभैm अनुमान गर्न सकिन्छ । यो बाजा भेडीगोठको क्रमिक रूपमा लोक जीवनका अन्य मनोरञ्जनका साधनसँगै विलय र लोप भएर गएको हूँदा सर्वसाधारणसम्म सार्वजनिक रूपमा लोकप्रिय बन्न सकेन तापनि यसको आदिम रूपसँगै वर्तमानमा सारङ्गी, गीटार जस्ता तार बाजाहरू विकसित भएको कुरा हामी अनुमान गर्न सक्तछौँ । किनभने सारङ्गी, गीटार, सितार जस्ता बाजाहरू भन्दा धेरै समय अगाडि ‘टुङना’ को विकास भएको पाइन्छ । साथै ‘टुङना’ बाजाको पुरानो स्वरूपसँग कतिपय यी बाजाहरूसँग मेल खाने हुँदा उक्त कुराको पुष्टि हुन आउँछ ।

२. ‘टुङना’ बाजाको अवधारणा र बनावट
गोठाला जीवन वास्तवमा अत्यन्त कठिन मात्र होइन, एकान्त वनजङ्गल, भिर, पहरासँग सङ्घर्ष गर्दै जिउनु पर्ने हुँदा अन्य गाउँघरको रीतिथिति, चाडपर्व, घर परिवार समेतबाट टाढा रहेर बस्न बाध्य हुन्छन् । यस्तो अवस्थामा उनीहरूको चिन्तनलाई सन्तुलन गर्न गोठालाहरूले मनोरञ्जनका वैकल्पिक उपायहरू सोच्नु स्वाभाविकै हो । सुरुसुरुमा गोठालाहरूले वन जङ्गलमा रूखका पातहरू टिपेर मुखमा च्यापेर धुन निकाल्दै मन बहलाउने गर्दथे । तर त्यसबाट मात्र मनोरञ्जनका कुराहरू पूरा हुन सकेनन् । त्यसैले उनीहरूले स्थानीय स्रोत र साधनबाट एउटा यस्तो बाजाको अवधारणा ल्याए अन्ततः त्यो टुङना बाजाको रूपमा विकसित भयो ।

‘टुङना’ बाजा कसरी बनाइन्छ ? यस बारे छोटो चर्चा गरौँ । यो बाजा एउटा सामान्य काठबाट सजिलैसंग बनाइने बाजा हो । यसमा कुनै आधुनिक ढाँचाहरू नभए पनि पुराना गोठाले जीवनको स्पष्ट झलक देखिने आकार प्रकार पाइन्छ । हिमाली भेगमा पाइने काठहरूमध्ये धुपी सल्लाको काठलाई करीब अढाइदेखि तीन फिट लामो काठको तल्लोभाग केही ठूलो आकारको हुन्छ, जहाँ एउटा खोपी जस्तो खोपेर माथीि बाट भेडा वा भेडीको छालाले बलियोसँग मोरेर छोपिन्छ । काठको माथिल्लो भागमा विभिन्न जनावरहरूको अर्थात् खास गरी भेडाको थुमा (साँढ) को टाउकाको आकार निकालिन्छ । कसैकसैले मानिसको टाउकाको आकार पनि बनाउने गर्दछन् । घाँटीतिर प्वाल पारेर त्यसको दुईगालातर्फ छ वटा छुट्टा छुट्टै ससाना प्वाल राखिन्छ यसको खास विशेषता भने टुङनाको तार कुनै धातुबाट नभई बुढी भेडो मरेपछि त्यसको सेतो आन्द्रालाई सुकाएर तन्काइन्छ, बटारिन्छ र त्यसलाई तारको रूपमा जडान गरिन्छ । माथिल्लो भागमा रहेको प्वालहरूमा ससाना काठका टुक्राहरूसँग जोडेर तार तन्काउने र मिलाउने गरिन्छ । तलको छालाले मोडेको भागमा तार उचाल्ने गरी राखिन्छ । दुई चारवटा तार जडान गरेर सानो ठूलो आवाज निस्कने गरी मिलाएर एउटा काठको टुक्राले बजाउने गरिन्छ ।

३. टुङना गीत र यसको सांस्कृतिक महत्त्व
मानव सभ्यताको विकासक्रमसँगै नेपालको उत्तरी हिमालय खण्डमा तमू (गुरुङ) जाति पशुपालन व्यवसाय अन्तरगत ‘भेडी गोठ’ पाल्ने आफ्नो मौलिक परम्परामा आधारित ‘टुङना’ बाजा र यससँग सम्बन्धित टुङना गीतका लोक भाकाहरूको विकास भएको पाइन्छ । हुनत यो बाजा र गीत सङ्गीत बिलकूल मौलिक मात्र नभई सीमित स्थान र परिवेशमा प्रचलित भएको हुँदा सबै तमू समुदायको संस्कृतिसँग जोडन सकिएको अवस्था रहेन । त्यसैले हामीले अब ‘टुङना’ लाई कुनै खास जाति र परम्परासँग मात्र सिमित नराखी नेपालीहरूको लोक बाजा र आदिवासी जनजातिहरूको संस्कार संस्कृतिभित्र समाविष्ट गर्नु पर्ने देखिन्छ । टुङना बाजा र टुङना गीतको वास्तवमा छुट्टै महत्त्व र सांस्कृतिक महिमा रहेको कुरा पुराना भेडीगोठालाहरूका लयवद्ध गीत सङ्गीतका भाकाहरूबाट प्रष्ट हुन आउँछ । भेडीगोठ खास गरी वर्षको फागुन चैतबाट उभौली र कार्तिक मङ्सिरबाट उद्यौलीको रूपमा गोठ स्थानान्तरण गर्ने गर्दथे । वर्ष भरी आपूmले भोगेका दुःख कष्टहरू वनजङ्गलमा जङ्गली जन्तुसँग सङ्घर्ष गर्दै आफ्नो भेडीगोठको सुरक्षा गर्नु कम जोखिम पूर्ण हुँदैन । यस्ता दुःख र कष्टहरूलाई आफ्नो मौलिक बाजा टुङना को सहायता, सहारामा गोठालाहरू हिमाली भेगमा जसलाई ‘सिद्धि’ भनिन्छ त्यहाँ मनलाई सन्तुष्टि दिने काम गर्दथे भने उद्यौलीमा गाउँघरतिर भेडीगोठ ल्याएपछि उनीहरूको दुःखको पुकारा टुङना बजाउँदै गीतको भाकामा राती घरघर गएर पोख्ने गर्दथे । त्यसत मात्र होइन आफ्नो भेडीगोठमा आवश्यक पर्ने चामल, पीठो, नून, खोर्सानी लगायत खाने कुराको माग गर्ने चलन समेत थियो । घर गाउँलेहरूले पनि उनीहरूको टुङनाको धुन र गीतका भाका सुनेर मख्ख पर्थे । कसैले उपहार स्वरूप खानपिनका लागि चामल पीठो दिएर बिदा दिन्थे ।

भेडाहरू हिमाल र पहाडी क्षेत्रमा चरी चरन गर्ने, विभिन्न जडीबुटी खाएर बाँच्ने पशु प्राणी भएको हुँदा भेडीको दूध अत्यन्त पौष्टिक र औषधिवर्धक मानिन्छ । यति मात्र होइन भेडीको घिउ औषधिको रूपमा तत्काीलन गाउँघरमा ठूलो माग हुने गर्दथ्यो । खास गरी आगोले पोलेको ठाउँमा भेडीको घिऊ अत्यन्त लाभदायक मानिन्छ । भेडाको उनबाट बनेको राडी, पाखी, चुङ्गा, चकटी लगायतका सामानहरू आजभोलि पनि तमू समुदायमा एक सांस्कृतिक परम्पराको रूपमा चल्दै आएको छ । भेडीगोठमा प्रयोग हुने डेली, भकारी, जाबो, ठेकी, टुङना, घुमराडी जस्ता विविध सामान र हातहतियारहरू ज्यादै पुराना सांस्कृतिक र परम्परागत महत्त्वका वस्तुहरू हुन् । आजभोलि यी सामानहरू सानातिना सङ्ग्रहालयतिर थन्किन पुगेको देखिन्छ ।

४. टुङना गीतका केही अंशहरू यस प्रकार छन् ।
हा—हा—हा— काठको टुङना भेडीको छाला काइला दाइ गोठाला —हे—ई—आ—
लेकैमा फुल्ने लै लाली गुराँस औलामा टोटला
को होला भनी भनौली आमै म भेडी गोठाला —टङ——टङ——टङ—
पाँच सय भेडीको त्यो मूल केरी नाम रहयो दर पनि
वन वनै खानु वन वनै सुत्नु बिर्सियो घर पनि —टङ——टङ——टङ—
सिलिङ्गे काठको फिलिङ्गे टुङना खै भाका दिँदैन
बालकैदेखि वनबासी भइयो आमाले चिन्दैन —टङ——टङ——टङ—
आकाशै गज्र्यो पानी है प¥यो मझेरी लाग्यो लेउः
लाठेलाई चामल भेडीलाई नून कुकुरलाई पिठो देउ —टङ——टङ——टङ—
पाँच सय भेडी खोला पारी तार्दा बगायो धागीले
जिन्दगी भरी दुःख र कष्ट के लेख्यो भावीले —टङ——टङ——टङ—

५. निष्कर्ष
सारङ्गी र गीटार झैँ काठको टुक्राले तारमा दलेर बजाइने टुङना बाजा र यसका अनौठो मौलिक सांस्कृतिक धुन अब प्रायः लोप हुँदै गइरहेको छ । सारङ्गीको मौलिक लोक धुन जस्तै टुङनाको पनि आफ्नै लोक धुन पृथक् रूपमा देखिन्छ । हातका औलाहरूले तारहरूसँग खेल्दै विभिन्न भाका र ताल अनि लयमा बजाइने ‘टुङना’ को खोजी संरक्षण र सम्वद्र्धन गर्न आजको आवश्यकता हो । हाम्रो परम्परा र हाम्रो पहिचान नेपाली लोकवार्ता जस्ता बुज्रुक समूहले अवश्य पनि यस बारे अनुसन्धान गरी लोकबाजाको र लोक धुनको संरक्षण गर्ने कुरामा हामी विश्वस्त छौँ ।

Loading...